काठमाडौं । रामेछापका होचा र कम तौल भएका २८ वर्षीय कल्याण श्रेष्ठ विश्वकै होचा र कम तौल भएका व्यक्ति भएको उहाँको परिवारले दाबी गरेको छ ।
काठमाडौंमा पत्रकार सम्मेलन गर्दै रामेछापको खाँडादेवी गाउँपालिका वडा नं ३ निवासी राम बहादुर श्रेष्ठ र रमा श्रेष्ठले आफ्ना छोरा विश्वकै होचा र कम तौल भएका व्यक्तिको रुपमा चिनाउन आग्रह समेत गर्नु भएको छ ।
विश्वकै सबै भन्दा होचो र कम तौल भएका व्यक्ति हुनसक्ने सम्भानावना भएकाले गिनिज बुकमा नाम दर्ता गराउन पत्रकार सम्मेलनको आयोजना गरेको परिवारले जानकारी दियो । कल्याण झट्ट हेर्दा ६ महिनाको दुधे बालक जस्तै देखिन्छनुहुन्छ । २८ बर्षीय कल्याणको उचाइ २९ इन्च र तौल जम्मा १० केजी छ ।
आफ्ना अर्का छोराको तौल र उचाई उस्तै रहेको भन्दै कल्याणका बुबा राम बहादुर श्रेष्ठले भन्नुभयो, ‘दुई छोराहरु जन्मपछि बढ्ने र शारिरीक र मानसिक बृद्धि हुने क्रममा रोकावट आएपछि अस्पतालमा स्वास्थ्य परिक्षण गराएपछि थाइराड हर्मोनको कमीका कारण यस्तो भएको थाहा पायौँ । अहिले यीनीहरुको अबस्था दयनीय छ ।’
‘यस उपचारको खोजीमा धेरै प्रयास गर्दापनि सुधार देखिएन । २०/२२ वर्ससम्म त बढ्ने आशामा थियौँ तर ती सबै आशाहरु निराशामा बदलिए’, श्रेष्ठले भन्नुभयो । कल्याणको अपांग भत्ता बाहेक अहिलेसम्म कतैबाटपनि केही सहयोग नपाएको उहाँको गुनासो छ ।