पशुपतिको जग्गा कौडीको भाउमा

अनलाइन दर्पण 2019-09-18
img

काठमाडौं १ असोज । सरकारले उचित व्यवस्थापन गर्न नसक्दा पशुपति क्षेत्र विकास कोषको १८ हजार ३ सय ८५ रोपनीभन्दा बढी जग्गा विभिन्न निकायलाई कौडीका भाउमा भाडामा दिइएको पाइएको छ । सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धमा छानबिन गर्न गठित जाँचबुझ आयोगले उक्त जग्गाको अध्ययन सुरु गरेको छ ।

पशुपति क्षेत्र विकासले तयार पारेको प्रतिवेदनलाई ल्याएर उक्त जग्गाका बारेमा अध्ययन गर्न थालिएको जानकारी आयोगका सदस्य जगत देउजाले दिए । ‘कति भाडामा छ, कति अतिक्रमण भएको छ, सबै कुरा अध्ययन गर्दैछौं’ उनले भने । भाडामा दिएको बाहेकको जग्गापनि कोषले व्यवस्थापन तथा संरक्षण गर्न सकेको छैन ।

यसरी वर्षौदेखि लथालिंग तथा लागतसमेत नभएको उक्त जग्गा पछिल्लोपटक कोषले तथ्यांक संकलन गरेर प्रतिवेदन तयार पारेको छ । वर्षौंदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले ११ सय ६१ रोपनी जमिन भाडामा प्रयोग गर्दै आएको छ । विमानस्थलले ९९ वर्षका लागि लागि भाडा लिएको छ ।

२०७४ देखि कोषलाई वार्षिक करिब एक करोड रुपैयाँ उपलब्ध गराउने सम्झौता गरेको छ । त्यसअघि विमानस्थलले प्रतिरोपनी एक मुरी तीन पाथी धान उपलब्ध गराउने गरेको जानकारी कोषका कोषाध्यक्ष मिलनकुमार थापाले दिए । ‘तथ्यांक संकलन गरेर त्यसको उचित संरक्षण कसरी गर्ने भन्ने समस्या छ’ थापाले कान्तिपुरसित भने, ‘वर्षौंका लागि भाडामा दिइएको छ, तर त्यो समयसापेक्ष छैन, पुनरावलोकन गर्ने कसरी ?’

तीलगंगा आंखा अस्पतालले कोषसित करिब ५ रोपनी जग्गा ४९ वर्षका लागि लिजमा लिएको छ । उसले प्रतिरोपनी वार्षिक ४० हजार भाडा तिर्छ । २०७२ भदौ ५ मा लिखित लिज सम्झौता भएपनि त्यसअघि समेत अस्पतालले जग्गा प्रयोग गर्दै आएको थापाले बताए । ‘त्यस अघि सम्झौता के कस्तो थियो भन्ने, कतै लिखित छैन’ उनले भने, ‘त्यसपछि पनि प्रतिमहिना तिर्ने भाडा पनि निकै कम छ ।’

नेपाल आँखा कार्यक्रम र कोषबीच सम्झौता भएको छ । कोषको सञ्चालक परिषदबाट निर्णय नगरी सिधै व्यक्तिले पदको दुरुपयोग गरेर भाडामा दिएको पाइएको प्रतिवेदनमा छ । ‘भाडामा लगाउनु हुन्न भन्ने होइन, तर भाडामा दिएको संस्था फाइदामा जाने, अनि कोष दुब्लाउँदै जाने अचम्मको कुरा हो’ थापाले भने, ‘भाडादर समयअनुसार हुनु पर्छ भन्ने हो ।’

गौशलास्थित धर्मशालाका नाममा करिब १ रोपनी जग्गाको भाडा वि.सं. १९९९ देखि हालसम्म पाउन सकेको छैन । साँढे गौचरण राखी जुनेलो घाँस लगाउन हालसम्म उक्त जग्गा हरिनारायण कुमारलाई दिएको पाइएको छ । त्यसपछि २०२१ को नापीअनुसार पशुपतिनाथको नाममा लिएको देखिन्छ । कान्तिपुरबाट

सम्बन्धित समाचार

Advertisement