सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका वडा नम्वर ८ का वडाध्यक्ष चरीबहादुर तामाङ वडा भित्र कोही महिलाहरू सुत्केरी भएमा सुत्केरी भएको एक हप्ता भित्रमा एउटा कुखुराको भाले लिएर सुत्केरी भेट्न जाने गरेका छन्। वडाध्यक्ष तामाङले सुत्केरी महिलालाई भेटेर बधाइ र भाले दिएर फर्किने गरेका छन्।
उनले महिलाहरू सुत्केरी भएको समयमा जनप्रतिनिधि घरमा भेटन जाँदा खाली हात नजानका लागि र सुत्केरी अवस्थामा पोषणयुक्त आहारकाे आवश्यकता पर्ने भएकाले एक हप्ता भित्रमा भाले लिएर जाने गरेको बताए ।
सबैको घरमा पाैष्टिक आहाराको ब्यवस्था नहुन पनि सक्छ र आर्थिक अवस्था पनि कमजोर हुन सक्ने भएकाले एउटा कुखुराको भालेले सुत्केरी अवस्थामा राम्रै काम गर्ने भएकाले यस्तो कार्यको सुरुवात गरिएको तामाङले बताए।
महिलालाई स्वास्थ्य संस्थामा गएर बच्चा जन्माउन आग्रह गर्दै आएको र महिलाको स्वास्थ्य अवस्थाको बारेमा पनि जानकारी लिने गरेको वडाध्यक्ष तामाङले बताए। यति मात्रै नभई घरका सदस्यलाई पनि सुत्केरी महिलालाई काममा नलगाउन र आरामको आवश्यकता पर्ने भएकाले पाैष्टिक आहार प्रशस्त मात्रामा खुवाउन र झोलिलो पदार्थ खुवाउन आग्रह गर्ने गरेको समेत बताए।
वडा अध्यक्षद्बारा वडामा राम्रो कामको सुरुवात भएको भन्दै स्थानीयले यस्काे स्वागत र यसलाई आगामी दिनमा समेत निरन्तरता दिन आग्रह गरेका छन्।
गाउँपालिकाकाे चालू आर्थिक वर्षको मातृ शिशु स्वास्थ्य र पोषण नीति तथा कार्यक्रम अन्तर्गत सुत्केरी महिलाका लागि एउटा भाले, गेडागुडी, आयोडिनयुक्त नुन र सरसफाइका सामग्री प्रदान गरिरहेको वडाध्यक्ष तामाङले बताए।