किन गरे रवि लामिछानेले राजनीतिमा आउने संकेत

अनलाइन दर्पण 2019-08-27
img

चितवन । न्यूज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछानेले राजनीतिमा आउने संकेत गरेका छन् । मंगलबार बिहान चितवनमा आयोजित पत्रकार सम्मेलनमा जनताले रविलाई देशको उच्च पदमा पुग्नुपर्छ भन्ने जनताको जिज्ञासालाई कसरी लिनुहुन्छ भनेर सोधिएको प्रश्नमा उनले यस्ताे संकेत देखाएका हुन् । 

राजनीतिमा आउने सम्भावनाबारे सोधिएका प्रश्नको उत्तर दिँदै उनले भने, ‘सम्भावनाको ढोकामा चुकुलमात्र लागेको छ, ताल्चा लागेको छैन ।’ 

मिडियाबाट परिवर्तन गर्न नसके राजनीतिमा पनि प्रवेश गर्ने उनको आशय थियो । उनले अहिले तत्काल राजनीतिमा आउँने भन्दा पनि अहिले भएका नेताहरु र पार्टीलाई इमान्दार बनाउने काम गर्ने पक्षमा आफु रएको बताए ।

उनले जनताको भोट लिएर आएका नेताहरुले आफ्नो धरातल बिर्सन नहुने भन्दै आफुले सञ्चार क्षेत्रबाट त्यो काम गर्ने पनि बताएका छन् । आफु अब अझ थप बलियो भएर आउँने उनले बताएका छन् । 

उनले आफुले पैसाका लागि यो पेशामा नआएको भन्दै जसले पैसा खाएको आरोप लगाएका छन् उनीहरुलाई आरोप प्रमाणित गर्न समेत माग गरेका छन् ।

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा आत्महत्या दुरुत्साहन मुद्दा लागेका सञ्चारकर्मी रवि लामिछाने  १० दिन हिरासतमा बसेर  सोमबार ५ लाख धरौटीमा रिहा भएका थिए । 

हिरासतमा रहेकै बेला सार्वजनिक भएको एक अडियो अन्तर्वार्तामा लामिछानेले आफू रिहा भए पुडासैनी मृत्युको दोषी तीन मिनेटभित्रै पत्ता लगाइदिने बताएकोबारे पनि पत्रकार सम्मेलनमा प्रश्न सोधिएको थियो । जवाफमा रविले त्यसको जिम्मा प्रहरी प्रशासनको भएको र उनीहरुले नसकेमा आफूले वाचा गरेको जिम्मेवारी पूरा गर्ने पनि बताए ।

सम्बन्धित समाचार