भक्तपुर, २८ साउन । तिव्र विकास र समृद्धिको बाटोमा अघि बढेको भक्तपुरमा उज्यालो भक्तपुर अभियानको शुभारम्भ भएको छ । सोमवार साँझ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले सूर्यविनायक नगरपालिका वडा नं. ७ को गुण्डु चोकबाट खहरेसम्म करिव २ किलोमिटर दुरीमा सडक सोलार बक्तिको शुभारम्भ गर्नुभएको हो ।
चिनिया कम्पनी ग्यान्सु नेचुरल इनर्जी कम्पनीको करिव २५ लाखको सहयोगमा ३० वटा जडान गरिएको उक्त सडक सोलार बक्ति लगानी सम्मेलनमा गरिएको प्रतिवद्धता अनुसार सहयोग गरेको जानकारी गराउँदै उहाँले भन्नुभयो, ‘तिहारमा मात्र उज्यालो बनाई दिपावली मनाउने परम्परा रहेको तर अबका दिनमा भक्तपुर सधै उज्यालो हुनेछ । भक्तपुरको गुण्डु मर्निङ वाक गर्नेमात्र नभई अबका दिनमा इभिनिङ वर्क गर्ने ठाउँको रुपमा परिचित हुने छ ।’
भक्तपुरमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगतको अर्को महत्वपूर्ण कार्यको रुपमा रहेको बताउँदै उहाँले प्रधानमन्त्री रोजगार कार्यक्रममा सेवा गरेका व्यक्तिहरुले काम गरेको बताउनुभयो । भक्तपुरको कामबाट प्रभावीत भई सहयोगी दाताहरु खोज्दै आउने गरेको बताउँदै उहाँले भन्नुभयो, ‘अबका दिनमा भक्तपुरले विकास खोज्ने हैन, विकासले भक्तपुर खोजेर आउँछ ।’
भक्तपुरलाई हरियालीयुक्त सहर बनाउने जसको पहिचान नै ग्रीन सिटीको रुपमा विकास गर्ने उद्देश्यका साथ भक्तपुरमा हरियाली कार्यक्रम समेत कौशलटारबाट सिरुटारसम्मको सडकमा शुरु भइसकेको र आगामी दिनमा क्रमिक रुपमा भक्तपुर जिल्लाभरी हुने उहाँले बताउनुभयो ।
वडा नं. ७ का वडाध्यक्ष रविन्द्र सापकोटाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उहाँले हरियाली वातावणलाई स्वच्छता राख्नेमात्र नभई उच्च तापक्रमको नियन्त्रण, वर्षा गराउनेलगायतका असंख्य फाइदाहरु हुने बताउँदै हरियालीकै माध्यमबाट दिल्लीमा हरियाली प्रवद्र्धनकै कारणले ३ डिग्री तापक्रम घटेको उदाहरण समेत प्रस्तुत गर्नुभयो ।