रामेछाप, २६, साउन । गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्ग बहादुर सुनुवारले आफूले गाउँपालिकाभित्र कुनै पनि अनियमितता नगरेको दावी गरेका छन् । उनले जनताको पक्षमा रातदिन काम गरिरहेको बताउदै यदी कसैले गाउँपालिकामा भ्रष्टचार भएको पुष्टि गर्छ भने आफू गाउँपालिका अध्यक्षबाट राजिनामा मात्र हैन राजनिति समेत त्याग्न तयार रहेको बताएका छन् ।
उनले भने,‘मैले गाउँपालिकालाई समृद्ध बनाउने योजना साथ अगाडि बढेको छु, विकास निर्माणको कामले गति लिएको छ, केही तत्व नियोजित रुपमा मेरो विरुद्धमा गतल प्रचार गर्ने काममा लागेको छ ।’ कुनै पनि खालको अनियमितता, भ्रष्टाचार र कमिसन लिएको कोही कसैले प्रमाणित गरे राजिनामा गर्न तयार रहेको बताउदै उनले विना प्रमाण आफ्नो चरित्र हत्या नगर्न पनि चेतावनी दिए । आफूमाथि सामाजिक सञ्जाल मार्फत बदनाम गर्ने कोशिस भइरहेको बताउदै नागरिकहरुलाई तथ्यहिन समाजनको भ्रममा नपर्ने पनि आग्रह गरे ।
‘मैले जीवनको उर्जावान समय जनताकै सेवाको लागि खर्चिए, अहिले पनि गाउँपालिकाको अध्यक्षको हैसियतमा गाउँपालिकालाई समृद्ध बनाउने योजना र सपना लिएर अगाडि बढेको छु’, उनले भने,‘ मेरो विरुद्ध फैलाइएको भ्रममा पर्न आवश्यक छैन, विरोधी शक्तिहरु आफ्नो वर्चश्व गुम्ने त्रासले मेरो विरुद्धमा लागेका छन् ।’ उनले गोकुलगंगा गाउँपालिकावासीको भावनामाथि कुनै पनि चोट पुग्ने काम आफूबाट नहुने बताउदै निर्वाचनमा गरेको प्रतिबद्धता अनुसार नै काम अगाडि बढाइएको बताए ।
कुनै वडाका वडाध्यक्षले चित्ता नबुझेको कुरा सिधै आफुसंग फेस गरेर आउदा जस्तोसुकै समस्याहरु पनि मिलेर समाधान गर्न आफु तयार रहेको भन्दै पालिका बैठकमा सहभागि नहुने आफुसंग फेस नगरेर आफ्नो कमजोरी लुकाउन पत्रकार सम्मेलन गरेर प्रभावित पार्छ भने त्यो राम्रो नहुने बताएका थिए ।
जानअनजान आफुबाट पनि केहि गल्ति हुन सक्ने भन्दै गाउपालिका भित्रको कमिकमजोरी त्यहि सल्टाउन सकिने तर मिडिया बाजी गरेर कोहि कसैलाई फाइदा नहुने समेत बताए ।