सिन्धुपाल्चाेक । मेलम्ची नगरपालिका वडा नम्बर १० को वडा कार्यालयमा मंगलबार राति अज्ञात समूहले आगजनी गरेको छ। आगजनीबाट वडा कार्यालय पुर्णरुपमा क्षतिग्रस्त भएको छ। वडा कार्यालयभित्र रहेका सम्पूर्ण कागजातहरु समेत जलेर नष्ट भएको छ।
वडा कार्यालयकाे मुख्य ढोकाको ताल्चा फाेडेर वडा कार्यालयभित्र रहेका कागजातहरु जम्मा गरी आगजनी गरिएको वडाध्यक्ष भक्तबहादुर खड्काले बताए। मंगलबार कार्यालयको काम सकेर ताला लगाएर आफू घर गएको तर बुधबार बिहान आगजनी गरिएको खबर स्थानीयहरुबाट सुनेपछि आउँदा वडा कार्यालय जलेर ध्वस्त भएको उनको भनाइ छ।
घटना कसले गरायो भन्ने विषयमा अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएकाे छ । घटनाको प्रकृति हेर्दा विप्लवका कार्यकताले गरेको हुनसक्ने सम्भावना कम रहेको प्रहरीको आशंका छ। स्थानीयहरुले कुनै अन्य कारणवाट वा रिसइबी साध्न यस्तो गरेको हुनसक्ने सम्भावना रहेको प्रहरीको अनुमान छ।
प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएको र क्षतिको यकिन गरी दोषीमाथि कडा कारबाहीका लागि मेलम्ची नगरपालिका लाग्ने वडाध्यक्ष भक्तबहादुर खड्काले बताए।