सुनकोशी गाउँपालिकामा साबुन बनाउने तालिम सम्पन्न 

अनलाइन दर्पण 2019-09-17
img

सिन्धुपाल्चोक। महिलाहरुको सिप विकास र आत्मनिर्भरताका लागि ३ दिने साबुन बनाउने तालिम सुनकोशी गाउँपालिकामा सम्पन्न भएको छ ।कालिका महिला संजालको आयोजनामा  सुनकोशी गाउँपालिका-३ कालिकामा उक्त तालिम सम्पन्न भएको हो । 

जेठ १६ गते देखि सञ्चालित तालिम गत १८  गते कालिका महिला संजालको अध्यक्ष इन्द्रमाया खत्रीको अध्यक्षता र सुनकोशी गाउँपालिका-३ का वडा अध्यक्ष रामहरी खड्काको प्रमुख अतिथ्यतामा शनिबार एक कार्यक्रमविच  तालिमको समापन गरिएको हो । कार्यक्रममा अध्यक्ष  खत्रीले तालिम दिनुको उद्देश्यमाथि प्रकाश पार्दै विपन्न  महिलाहरुलाई उद्यमी बनाउने आफूहरुको उद्देश्य रहेको बताएकी थिइन् । तालिमबाट विपन्न महिलाहरुको आर्थिक क्रियाकलापमा वृद्धि हुने र  यसबाट महिलाहरु आत्मनिर्भर हुने उनको बिश्वास छ।

तालिमको समापन सत्रमा बोल्दै सहभागीहरुको तर्फबाट कल्पना गिरि, भद्रकुमारी प्याकुरेल, रमा कार्की र पबित्रा थापामगरले आयोजकहरुलाई धन्यवाद दिए । तालिमका सहभागीहरुले साबुन बनाउने सीप आफूहरुका निम्ति ज्यादै लाभदायी हुने बताए । उनीहरुले आफूहरुजस्ता महिला उद्यमी बन्नका लागि यस्तै तालिम आगामी दिनमा पनि आवश्यक रहेको बताएका थिए ।

समापन सत्रमा वडा सदस्य कृष्णमाया थापामगर र प्रशिक्षक निर्मला बस्नेतले पनि आ–आफ्नो मन्तव्य राख्दै तालिममा हासिल गरिएका सीपलाई व्यवहारमा उतार्न प्रशिक्षार्थीलाई आह्वान गरे ।

मन्तब्यका क्रममा यस तालिममा लिएका सीपलाई ब्यवहारमा उतार्न, सिकेका सीपबाट आयआर्जन तथा ब्यवसायिक रुपमा गरी अर्थोपार्जन गर्न, सुरुवातमा खर्च कम गर्न दुई तीन जना मिलेर समुहमा गर्न वक्ताहरुले सुझाएका थिए ।

कार्यक्रममा वडा अध्यक्षय खड्काले सहभागीहरुलाई प्रमाण पत्र वितरण गर्दै सिकेको सिपलाई व्यबहारमा उतारेर आत्मनिर्भर बन्न आग्रह गरेका थिए ।

तालिममा सुनकोशी गाउँपालिका-३ कालिकाका ६० जना महिलाहरुको सहभागिता रहेको थियो । तालिमको प्रशिक्षकमा निर्मला बस्नेत र गीता खत्री रहेका थिए । 

सम्बन्धित समाचार

Advertisement