काभ्रे । मण्डन देउपुरमा पाँच दिनअघि आफ्नै घरमै मृत अवस्थामा फेला परेकी सिपाघाटकी २५ बर्षिया सरिता दाहाल दुलालको हत्या भएको पुष्टि भएको छ । उनको हत्यामा श्रीमान सहित परिवारका अन्य सदस्यको समेत संलग्नता रहेको बताइएको छ ।
सरितालाई न्याय दे भन्ने प्ले कार्ड बोकेर प्रदर्शन गरेका स्थानीयहरुले मृतक सरिता दुलालको हत्याको आरोपमा पक्राउ परेका श्रीमान् सुदिप दुलाल एक्लैले मात्रै कुनै पनि हालतमा हत्या गर्न नसक्ने भन्दै हत्यामा परिवारका सदस्यहरुको संम्लग्नता रहेको भन्दै जिल्ला प्रशासन कार्यालयमा मंगलवार घेराउ गरेका छन् ।
मृतकका श्रीमान् सुदिपले शुक्रवार श्रीमतीको हत्या गरेपछि फरार भएका थिए । उनले गुलेलीको रवर घाँटीमा बाँधेर श्रीमतिको हत्या गरेको प्रहरीलाइ बयान दिएका थिए । शुक्रवार हत्या भएसँगै उनी फरार रहेका थिए । प्रहरीले भोलीपल्ट गाउँमै लुकेर बसेको अवस्थामा पक्राउ गरेको थियो ।
बिहान उठ्ने बिषयमा विवाद हुँदा श्रीमतिको हत्या गरेको प्रहरीलाई बयान दिएका छन् । शुक्रवार अलि छिट्टो उठौ भन्ने बिषयमा विवादहुँदा श्रीमतीको हत्या गरेको अपरिपक्क बयानदिएसँगै सुदिप एक्लैले कुनै पनि हालतमा श्रीमतीको हत्या गर्न नसक्ने स्थानीयले बताएका छन् । ‘श्रीमान् श्रीमतीबिच सामान्य विवाद भएपनि हत्या गर्ने सम्मको विवाद थिएन’ एक स्थानीयले भने सुदिपले एक्कैले श्रीमतीको कुनैपनि हालतमा हत्या गर्न सक्दैन यसमा परिवारकै सदस्यको संलग्नता रहेको छ । उनीहरु मिलेर हत्या गरेका थिए ।’
शुक्रवार बिहानै गाई दुहुन चाँडो उठौ भन्ने बिषयमा श्रीमतीसँग किचकिच भएसँगै आफूले घाँटी थिचेको र बेहोस भएपछि गुलेलीको रबरले घाँटी कसेर हत्या गरेको सुदिपले प्रारम्भिक बयान दिएका । तर प्रहरीले हत्यामा परिवारकै अन्य सदस्यहरुको समेत संलनताको आशंकामा मृतकका ससुरा पिताम्बर दुलाल ,सासु गंगा दुलाल, जेठाजु केशव दुलाल, जेठानी संगिता दुलाललाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
मृतक सरिताका माइती पक्षले सरिताको हत्यामा ससुरा,सासु , जेठाजु र जेठानीको समेत संलग्नता रहेको भन्दै आईतवार जिल्ला प्रशासन कार्यालयमा किटानी जाहेरी दिएको छन् ।
स्थानीय एंव मृतकका आफन्त नारायण ढकालले घटनामा दोषीलाई कारवाही हुनु पर्ने बताए । उनले घटना एक जनाले मात्रै हुने नसक्ने भएकाले परिवारका सदस्यहरुको समेत यसमा संम्लग्नता रहेकाले अनुशन्धानलाई बलियो बनाएर दोषीलाई उन्मुक्ति दिन नहुने बताएका छन् । प्रहरीले आरोपितलाई पक्राउ गरेपनि चित्तबुझ्दो अनुशन्धान होस भनेर आन्दोलन गरेको बताएका छन् ।
२०७२ साल बैशाक ९ गते मागी भएको उनीहरुविच विवाह दर्ता र नागरिकताको विषयमा पारिवारिक झैझगडा हुदै आएको स्थानीय सरस्वती सिंखडाले बताइन् । उनीहरुको एउटा माटोको कच्ची घर भित्र ३ परिवारको तिन चुल्हो हुँदै आएकोमा समय–समयमा विवाद हुँदै आएको सिम्खडाले बताईन् । ‘सरिताले नागरिकता र बिबाह दर्ताको माग गरेपछि सम्पत्ति माग्ने बुझेर हत्या भएको हुन सक्छ’ उनले भनिन् ।
गत शुक्रवार विभत्स तरिकाले हत्या भएको सरिताको अन्तिम संस्कार सोमवार पशुपती आर्यघाटमा गरिएको छ । सोमवार अन्तिम संस्कारपछि अपराधी कुनै पनि हालतमा उम्कन नपायोस् भनेर स्वतस्फूत रुपमा मण्डनदेउपुरका स्थानीय महिलाहरुले जिल्ला प्रहरी कार्यालय काभ्रे घेराउ समेत गरेका छन् ।
सरिता दाहाल दुलालको न्यायका लागि भन्दै महिलाहरुले जिल्ला प्रहरी कार्यालय घेराउ गरेका हुन् । स्थानीय महिला तथा जनप्रतिनिधीहरुले जिल्ला प्रहरी कार्यालय काभ्रेमा न्यायका लागि धर्ना दिएको बताएका छन् । ‘अपराधीलाइ जन्म कैद दे’ ‘महिला हिंसा अन्त्य गर’ मान्छे मार्न पाइन्न’ सबै नारी एक हौं जस्ता नारा लगाउँदै सयौँ महिलाहरुले जिल्ला प्रहरी कार्यालय काभ्रे अगाडी धर्ना दिएका हुन् ।
निक्कै मेहनती छिमेकी बिहान ९ बजेसम्म नउठ्दा काभ्रेको सिपाघाटका स्थानीय अचम्ममा परे । शुक्रवार बिहान ९ बजेसम्म लैनो गाई दुहुनु पर्नेमा नदोहेपछि गाई कराउन थाल्यो । त्यसपछि स्थानीयहरु मण्डनदेउपुर–६ सिपाघाटकी २५ बर्षिया सरिता दाहाल दुलालको ढोका ढकढक्याउन थाले ।
मरिसकेको मान्छे कहाँ बोल्थ्यो र उनीहरुलाई शंका लाग्यो र प्रहरीचौकीसम्म खबर पठाए । प्रहरी सरिताको घरमा पुग्यो, शरिरभरी निलडाम थियो उत्तानो परेको अवस्थामा शव लडिरहेको थियो । घाँटीमा निलो डाम थियो । सामान्य व्यक्तिले सहजै मृत्यु भनेर पत्याउनै मुस्किल पर्ने अवस्थाको थियो । त्यसपछि प्रहरीले उनको श्रीमानको खोजी गर्दा सुदिप दुलाल फरार भैसकेका थिए । बिहान १० बजे सिपाघाट चौकीको प्रहरी घटनास्थलमा पुगेसँगै जिल्ला प्रहरी कार्यालय धुलिखेलमा जाहेरी गर्यो ।
गम्भिर प्रकृतीको घटना बुझेसँगै जिल्ला प्रहरी कार्यालय काभ्रेवाट डिएसपी दिपक गिरीको नेतृत्वमा टोली गएर सुक्ष्म रुपमा अध्ययन गर्यो । स्थानीय र मृतकका आफन्तहरुले उनको हत्या भएको किटानी गरिसकेका थिए । श्रीमान फरार रहेपछि प्रहरीले परिवारलाइनै शंकाको घेरमा राख्यो । केही समयअघिदेखि नागरिकता र बिबाह दर्ताको लागि मृतक सरिताले माग राख्दै आएको छिमेकीले बताएपछि प्रहरीले मृतकका सासु ससुरा र जेठानी जेठाजुलाई नियन्त्रणमा लिएको छ ।-राजधानी दैनिकबाट