चैत्र २२;काठमाडौं दोलखा र रामेछापको पर्यटकीय क्षेत्र शैलुङमा ३ दिने शैलुङ महोत्सव हुने भएको छ । पर्यटन प्रवद्र्धनसँगै प्रचारप्रसारको लागि दोलखाको शैलुङ र मेलुङ अनि रामेछापको दोरम्बा गाउँपालिकाले संयुक्त महोत्सव गर्न लागिएको हो ।
बैशाख १३ देखि १५सम्म हुने महोत्सवको तयारीमा तीनै वटा गाउँपालिका जुटिरहेको छ ।
दोरम्बा गाउँपालिकाका उपाध्यक्ष कृशला घिसिङका अनुसार विभिन्न विभागीय उपसमितिहरू बनाएर महोत्सवको तयारीमा जुटिरहेको बताइन्छ । यसवर्ष दोरम्बाको खोलाखर्कमा महोत्सव गरिनेछ ।
शैलुङलाई पर्यटकीय हिसाबले विकास गर्न भनी दोरम्बा गाउँपालिकाले महोत्सवको तयारी तिब्र पारेसँगै आपसका गाउँपालिकाले समेत चासो दिएका थिए । सुरुवाती चरणमै एकापसमा सहकार्यको लागि पहल नगरेको भन्दै गाउँपालिकाबीच भएको असमझदारी सामाजिक सञ्जालसम्म पुगेको थियो । त्यसपश्चात गत चैत १६ गते रामेछाप र दोलखाका संघीय सांसद, प्रदेशसभा सांसदहरू, शैलुङ, मेलुङ तथा दोरम्बा गाउँपालिकाका अध्यक्षहरू सहितका जनप्रतिनिधिको छलफलले संयुक्त महोत्सव मनाउने सहमति जुटेको हो ।
आगामी वर्ष शैलुङले कालापानीमा र अर्को वर्ष मेलुङले फुर्केसल्लामा महोत्सवको आयोजना गर्ने सहमति भएको छ, शैलुङ गाउँपालिका अध्यक्ष भरतप्रसाद दुलालले भने– ‘महोत्सव गर्दा सम्बन्धित गाउँपालिका बढी बजेट विनियोजन गर्ने र २ साझेदार पक्षले ५/५ लाख खर्च व्यहोर्ने सहमति भएको छ ।’
यस वर्षको मूल आयोजक समिति बनेसँगै प्रत्येक वर्ष आयोजक गाउँपालिकाका अध्यक्षले महोत्सवको अध्यक्षता गर्ने र अरु दुई गाउँपालिकाका अध्यक्षहरुले कार्यक्रम संचालन र स्वागत गर्ने जिम्मेवारीमा सहमति भएको उपाध्यक्ष घिसिङले बताइन् ।
शैलुङले कालापानी क्षेत्रमा यसै वर्षदेखि होटल, होमस्टे र पर्यटनसँग सम्बन्धित व्यवसाय गर्न अनुदान दिने व्यवस्था गरिएको अध्यक्ष दुलालले बताए ।
महोत्सवमा शैलुङ सभ्यताका चिनारीलाई विश्वसामु थप परिचित गराउन लागिएको हो । शैलुङ यसअघि पनि आन्तरिक तथा बाह्य पर्यटकको मुख्य आकर्षक गन्तव्य हो ।
शैलुङलाई चिनाउने चौरी, याक, १०८ थुम्का, पद्य्मसम्भवका पद्चापका चिन्ह, शैलुङश्वरी महादेव, बाघढुङ्गा, जार काट्ने तरबार, विभिन्न प्रजातिका लालीगुराँस, सूर्योदय र सूर्यास्तका मनोरम दृश्य, गौरीशंकर, सगरमाथा, बौद्ध चैत्य लगायत महोत्सवका मुख्य आकर्षण रहने आयोजकले जानकारी दिएका छ्न ।
शैलुङ क्षेत्र समुद्री सतहबाट ३१४५ मीटरको उचाईमा रहेको छ । काठमाडौंदेखि अरनिको राजमार्गको मुडेबजार हुँदै करिब १३२ किलोमीटरको यात्रापछि पुग्न सकिन्छ । धुलिखेलबाट दोरम्बाको खोलाखर्क र मेलुङबाट समेत पुग्न सकिन्छ ।