पाल्पा, २९ भदौ । १९ दिनदेखि बेपत्ता भएका एक युवा मृत भेटिएका छन् । तानसेन नगरपालिका–१ भुसालडाँडा घर भएका ३६ वर्षीय सुनिल क्षेत्रीको शव घर नजिकैको खोल्सामा फेला परेको हो ।
युनाइटेड मिसन अस्पतालमा कार्यरत क्षेत्रीको शव घरदेखि सय मिटर मात्र पर खल्लुकधारा खोल्सामा भेटिएको प्रहरीले जनाएको छ ।
शव कुहिसकेको अवस्थामा भेटिएको छ । उनका बुबाले कपडा र अन्य शरीरको भागबाट उनको पहिचान गरेको प्रहरी उपरीक्षक विश्वमणी पोखरेलले बताए ।
भदौ ११ गते बिहान घरबाट हिडेका उनी त्यसयता घर फर्केका थिएनन् ।
बाबु चन्द्र केसीले पाल्पा र रुपन्देही प्रहरीमा खोजतलासका निवेदन दिएका थिए ।