काठमाडौं , फागुन २२ । कमल थापा नेतृत्वको रास्ट्रिय प्रजातन्त्र पार्टीले आगामी चैत ७ गतेदेखि १२ गतेसम्म राष्ट्रिय एकता यात्रा सञ्चालन गर्ने भएको छ । आइतबार बिहान पार्टी कार्यालय धुम्बाराहीमा बसेको पार्टीको नवनियुक्त पदाधिकारीहरुको पहिलो बैठकले यस्तो निर्णय गरेको राप्रपाका सहायक प्रवक्ता मोहन श्रेष्ठले बताए ।
राष्ट्रियता, सनातन धर्म र विकासलाई केन्द्रीत गर्न स्थानीय तहको निर्वाचनको सन्दर्भमा पार्टीको सन्देश जनता समक्ष लैजान , ऐतिहासिक एकता महाधिबेशनको सन्देश जनता तथा पार्टी कार्यकर्तासम्म पु-याउन तथा पार्टीको संगठन निर्माणको प्रक्रियालाई अघि बढाउने उदेश्यले राष्ट्रिय एकता यात्रा कार्यक्रम संचालन गर्न लागिएको बैठकपछि पार्टीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
अध्यक्ष थापासहित पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द, पूर्व राष्ट्रिय अध्यक्षहरु पशुपति शम्शेर जबरा र डा.प्रकाशचन्द्र लोहनीको नेतृत्वमा चार मुख्य ठाउँहरु गोरखा, कंचनपुर, झापा र काठमाण्डौबाट एकैदिन एकैसाथ एकता यात्रा प्रारम्भ हुने विज्ञप्तिमा उल्लेख छ ।
शनिबारदेखि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रियताको लागि भन्दै मेची महाकाली राष्ट्रिय अभियान चलाइरहेको बेला सोही शैलीमा राप्रपाले पनि ‘राष्ट्रिय एकता यात्रा’ गर्न लागेको हो ।