सुकुम्बासी नागरिक द्वारा टीकापुर नगरपालिका भवन घेराउ र तालाबन्दी

अनलाइन दर्पण 2018-07-21

बिगत लामो समय देखि टीकापुर नगरपालिका स्थित बहुमुखी क्याम्पसको जग्गा अतिक्रमण गरि बसोबास गर्दै आएका सुकुम्बासी, मुक्तकमैया नागरिकहरुले शुक्रबार टीकापुर नगापालिकाको कार्यालयमा घेराबन्दी र तालाबन्दी गरेका छन ।

अन्य सेवासुविधा स्थानीय सरकार एवं प्रदेश सरकारले दिन नसके पनि शिविरमा अस्थायी रुपमै भएपनी बिजुलिको व्यवस्थापन हुनुपर्ने भन्दै शुक्रवार दिउसै देखि नगरपालिकाको कार्यालय घेराउ गरिएको थियो ।

सुकुम्बासी नागरिकहरुलाई बिजुली दिने कि नदिने भन्ने सन्दर्भमा टीकापुर बहुमुखी क्याम्पस, उक्त क्याम्पसको स्ववियु, विभिन्न राजनीतिक दलका प्रतिनिधि, नेपाल बिद्युत प्राधिकरण टीकापुर शाखा, जनप्रतिनिधिहरु, सामाजिक अगुवाहरु, सुकुम्बासी जनताहरुको मुख्य नेतृत्वकर्ता लगायतका बिच गहन रुपमा लामो छलफल भएको थियो जसबाट टीकापुर नगरपालिका वडा नम्बर १ का अध्यक्ष गंगाराम आचार्यको संयोजकत्वमा कार्यदल बनाएर २१ दिनको अवधी भित्र वास्तविक सुकुम्बासी, मुक्तकमैया पत्ता लगाएर नगरपालिकामा प्रतिवेदन बुझाउनु पर्ने र त्यसपश्चात नगरपालिकाले वैकल्पिक रुपमा व्यवस्थापन गर्ने निर्णय गरेको थियो ।

चुनावका समयमा चुनाव जितेको पछिल्लो दिन नै सुकुम्बासी नागरिकलाई आवश्यक सेवासुविधा दिइने भनेर लिखित प्रतिबद्धता गर्ने गरेको तर आफ्ना मागहरु कहिलै सम्बोधन नगरिने भएता कारण नगरपालिका घेराउ गर्न पुगेको सुकुम्बासी नागरिकहरुको भनाई छ ।

शिविरमा बस्दै आएकी मैनमला रसाइली भन्छिन, "बर्षाको बेला भैसक्यो बत्ती छैन सर्प किराकमिलाको डर छ, दुई तिन बर्ष देखि बिजुली माग्दै आइरहेका छौं, न त नगरपालिका सुन्छ न त अहिलका जनप्रतिनिधि सुन्छन ।" यस्तै सुकुम्बासी नागरिक गोपि ओडले पनि बिजुलि व्यवस्थापन नै आफ्नो मुख्य माग रहेकाले चुनाव ताकेता गरेको प्रतिबद्धता पूरा गर्नुपर्ने र बिजुलि उपलब्ध गराईनुपर्ने बताईन । यस्तै १४ बर्षिय विद्यार्थी शिवराज धमालाले बिजुलि नहुदा आफ्नो पठनपाठनमा समस्या भएको र बर्षाको समयमा देखा पर्ने सर्प लगायत खतरनाक किराकमिलाहरुले रातमा घरमा बस्नै नसकिने अवस्था आएको गुनासो गरे । उनले भने,"बिजुली नहुदा पढ्न पाएको छैन र घरमा सर्प आएको पनि थाहा हुन्न अँध्यारो रातको समय कहाँ जाने कसरी बच्ने समस्या हुन्छ ।

" स्थानीय तहको चुनाव, प्रदेशसभा र प्रतिनिधिसभाको चुनावका सम्पुर्ण उम्मेदवारहरुले लिखित रुपमा निर्णय गर्दै आफुले जिते बिजुलिको व्यवस्थापन गर्ने भन्दै हस्ताक्षर गरेका थिए । त्यही हस्ताक्षर गर्नेमा टीकापुर नगरपालिकाका निर्वाचित नगरप्रमुख तपेन्द्र रावल समेत भएकाले स्थानीय तहको निर्वाचनबाट जनप्रतिनिधि आईसकेको बर्षदिन भन्दा बढी भैसक्दा समेत आफ्ना मागहरु सम्बोधन नगरिएको भन्दै स्थानीयहरु नगरपालिका घेराउ गर्न पुगेका हुन ।

बुधबार १८ औं कमैया मुक्ति दिवसको अवसरमा भएको कार्यक्रममा नगरप्रमुख तपेन्द्र रावलले सुकुम्बासी, मुक्तकमैयाका मागहरु सम्बोधन गरिने धारणा राखेपछि सुकुम्बासी नागरिकहरु नगरपालिका पुगेको केही सामाजिक अगुवाहरुको धारणा रहेको छ ।

प्रतिनिधि सभाको चुनावमा क्षेत्र नम्बर १ मा बिबेकशिल साझा पार्टीबाट उम्मेदवार रहेका लोक बहादुर बुढा क्षेत्रिले चुनाव ताकेता आफुहरुले बिजुलिको व्यवस्थापन गर्ने भनेर हस्ताक्षर गरेको सत्य रहेको बताउदै स्थानीय सरकार वा प्रदेश सरकारले आन्दोलित सुकुम्बासीका मागलाई सम्बोधन गर्दै बिजुलीको व्यवस्थापन गरिनुपर्ने बताए । त्यस्तै नयाँ शक्तिबाट क्षेत्र नम्बर १ प्रदेश सभा (ख) बाट उम्मेदवार रहेका हरि तिमिल्सिनाले टीकापुर नगरपालिकाले अब कार्यदल गठन गरि २१ दिन भित्र स्थलगत रिपोर्टको आधारमा प्रतिवेदन नगरपालिकालाई बुझाउनुपर्ने निर्णय गरेकोले अब त्यो निर्णय पछि प्रदेश सरकार सङ्ग समन्वय गरेर सुकुम्बासी नागरिकलाई बिजुलीको व्यवस्थापन गर्नुपर्ने बताए ।

टीकापुर नगरपलिकाका नगरप्रमुख तपेन्द्र रावलले कुनै पनि काम गर्न केही समय लाग्ने र अलि ढिला हुने भन्दै अब स्थलगत रिपोर्टका आधारमा वैकल्पिक व्यवस्थापन गरिने बताउदै वास्तविक सुकुम्बासी, मुक्तकमैयालाई व्यवस्थित गरिने बताए । लामो समयदेखि क्याम्पसको जग्गा अतिक्रमण गरेर बसेका सुकुम्बासी नागरिकहरुबाट वास्तविक सुकुम्बासी नागरिक छनोट गरेर नगरपालिकाले उचित ठाउँमा व्यवस्थापन गर्नुपर्ने भन्दै क्याम्पसले समेत बारम्बार आवाज उठाउदै आएको छ तर नगरपालिकाले भने न क्याम्पस न सुकुम्बासी नागरिक कसैको पक्षमा निर्णय गरेको छैन ।

सम्बन्धित समाचार