स्कूल बस दुर्घटनामा घाइते विद्यार्थीकाे उपचार खर्च स्कुलले व्यहोर्ने,एक बालिका र सहचालककाे अवस्था गंभिर

अनलाइन दर्पण 2018-07-19
img

भक्तपुर, ४ साउन। बिहिबार मध्यपुरथिमि–९ नीलबाराहीमा काठमाडौं मुलपानीस्थित क्रिश्चियन कम्यूनिटी स्कुलका विद्यार्थी बोकेर मध्यपुरतर्फ आउँदै गरेको बा १ क ९२५० नम्बरको स्कुल बस दुघर्टना हुंदा घाइते भएका सम्पूर्ण बिद्यार्थीकाे उपचार खर्च स्कुलले व्यहाेर्ने  भएकाे छ ।

बस सडकबाट १५ फिट तल खेतमा पल्टँदा  ६५ विद्यार्थी घाइते भएका छन् । जसमध्ये  ४१ जनाको मध्यपुर अस्पताल र २४ जनाको गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा उपचार भइरहेको छ ।

घाइतेमध्ये बसका सहचालक २८ वर्षीय अनिल थापाको नागरिक अस्पतालमा उपचार हुन नसकेपछि बाँसबारीस्थित न्यूरो अस्पतालमा पठाएको छ ।

थापाको अवस्था गम्भीर रहेको अस्पतालका निर्देशक जितेन्द्र श्रेष्ठले बताए । 

अर्का गम्भीर घाइते चार वर्षीया प्रतीज्ञा श्रेष्ठलाई काठमाडौँ मेडिकल कलेज पठाइएकाे छ ।

विद्यालयकी प्रिन्सिपल लालिमा मालाकारले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै विद्यार्थीको उपचारमा लाग्ने सम्पूर्ण खर्च विद्यालयले व्यहोर्ने बताएकी छिन् ।

अाफ्ना बालबालिकाकाे हेरचाह नभएकाे भन्दै अभिभावकहरू बिद्यलयसंग अाक्राेसित बनेका छन् ।

सम्बन्धित समाचार