भक्तपुर । घाँस काट्ने खुर्केर आयो जोवन हुर्केर....., पिँडिमा बसेर मेरै बाटो हेरेर मेरी आमा रुदीँ हुन मलाई सम्झेर......., फाटेको दौरा लाएर, खोले सिस्नु खाएर....जस्ता जीवन्त गितका गायक बुद्धिकृष्ण लामिछानेको लामिछानेको नाममा सडकको नामाकरण गरिने भएकाे छ ।
बिरामी भएर घरमै थला परेका चर्चित लोक गायक बुद्धिकृष्ण लामिछानेको ६५ औं जन्मदिन मनाउन बुधबार उनकै घरमा भक्तपुर सांगितिक समाजको टोली सहित पुगेका पुगेका चाँगुनारायण नगरपालिका प्रमुख सोम मिश्रले सांगितिक श्रेत्रका राष्ट्रिय व्यक्तित्व लामिछानेको नाममा सडकको नामाकरण गरिने बताए ।
मुहानपोखरीदेखि लामिछानेको घरसम्म पुग्ने सडकको नाम बुद्धिकृष्ण मार्ग राखिने र त्यसका लागि आवश्यक पूर्वाधार विकास नगरपालिकाले गर्ने नगर प्रमुख मिश्रले बताए ।
कलाकार लामिछाने अहिले अस्वस्थ हुनुहुन्छ । उनलाई भेट्न जाने मानिसहरुलाई राम्ररी आँखाले ठम्याउन पनि मुस्किल छ ।
स्वास्थ्य अवस्था राम्रो नभएका कारण टहरामा कठिन दैनिकी व्यतित गरिरहनुभएका लामिछानेलाई आफ्नो जन्मदिन पनि स्मरण थिएन । जन्मदिन मनाउन गएको टोलीले जन्मदिनको याद गराएर केक काटेपटि भने लामिछानेको अनुहारमा मन्द मुस्कान छाएको थियो ।
साे अवसरमा नगर प्रमुख मिश्रले लामिछानेको स्वास्थ्य उपचार र परिवारका लागि सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।