अव जनप्रतिनिधिलाई एकै किसिमको पोशाक

अनलाइन दर्पण 2018-07-18
img

खोटांग,२ साउन । खोटांग जिल्लाका दशवटै स्थानीय तहका जनप्रतिनिधिकालार्इ पहिचानको लागि लोगो सहितकाे पोशाक  लागू गरिएको छ । 

सर्वसाधारण तथा सरकारी कर्मचारीलाई जनप्रतिनिधि भनेर चिनारी दिनकै लागि भएपनि पोशाकमा एकरुपता र लोगो कायम गरिएको जिल्ला समन्वय समिति, खोटाङका प्रमुख बबि चाम्लिङले बताए  ।

पुरुष जनप्रतिनिधिको हकमा दौरा, सुरुवाल, कोट र नेपाली टोपी तथा महिला जनप्रतिनिधिको हकमा सारी, चौबन्दीचोली र कोटसँगै दुई हातले उठाएको खोटाङको नक्सा र नक्सामाथि राष्ट्रिय झण्डा रहेको लोगो सहितकाे पोशाक लागू गरिएको हो । 

आफ्नै लोगो र एउटै किसिमको पोशाक प्रयोगमा ल्याउने खोटाङ पहिलो जिल्ला भएको जनप्रतिनिधिले दाबी गरेका छन् ।

जिल्लाका सबै जनप्रतिनिधिले लगाउने लोगो असार ३१ गते आयोजना गरिएको जिल्लासभा उद्घाटन कार्यक्रममा प्रतिनिधिसभा सदस्य विशाल भट्टराई, प्रदेशसभा सदस्य रामकुमार राई (पासाङ) र उषाकला राईले संयुक्तरुपमा सार्वजनिक  गरेका थिए  । 

आगामी दिनमा जिल्लामा हुने हरेक कार्यक्रम तथा कार्यालय समयमा जनप्रतिनिधिले अनिवार्यरुपमा तोकिएको पोशाक र लोगो लगाउनुपर्नेछ ।

२०७४ साल असोज २ गते बसेको जिल्ला समन्वय समितिको बैठकले जनप्रतिनिधिको छुट्टै पहिचानका लागि जिल्ला समन्वय समिति, दुई नगरपालिका र आठ गाउँपालिकाका वडा सदस्यदेखि गाउँ/नगर प्रमुखको लोगोसहितको पोशाक निर्धारण गरेको थियो । 

सम्बन्धित समाचार