काठमाडौं, १ साउन। जुम्लामा आमरण अनशनरत डा. गोविन्द केसीका प्रतिनिधि र सरकार पक्षका प्रतिनिधिबीचको वार्ता बिना निष्कर्ष टुंगिएको छ ।
शिक्षा मन्त्रालयमा भएको वार्तामा अर्को वार्ता कहिले हुने भन्ने विषयमा समेत सहमति जुटेन ।
वार्तामा सरकारी प्रतिनिधिले पहिले केसीलाई काठमाडौं ल्याउनुपर्ने र उपचार गराउनुपर्ने बताएको थियो भने केसी पक्षले पहिले विधेयक फिर्ता हुनुपर्ने अडान राखेका थिए ।
दुवै पक्ष आ–आफ्नो अडानमा रहेपछि वार्ता बिनानिष्कर्ष टुंगिएको हो ।
डा. केसीले राखेको पहिलो बुँदामै कुरा नमिलेपछि वार्ता स्थगित भएको हो । डा. केसीको माग संसदमा दर्ता भएको विधेयक फिर्ता हुनुपर्ने रहेको थियो, तर सरकार पक्षले भने डा. केसीलाई काठमाडौं ल्याएर जीवन रक्षा गर्ने कुरामा मात्र बढी जोड दिएको थियो ।
वार्तामा सरकारका तर्फबाट शिक्षा मन्त्रालयका सचिव खगराज बराल, गृह मन्त्रालयका सहसचिव केदार न्यौपाने र स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. गुणराज लोहनी र डा. केसीका तर्फबाट डा. सिंह, वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी, ओमप्रकाश अर्याल र नेपाल चिकित्सक संघका प्रतिनिधि सहभागी थिए ।
डा. केसीको मागमा वार्ता गर्न सोमबारको मन्त्रिपरिषद् बैठकले शिक्षा मन्त्रालयका सचिवको नेतृत्वमा तीन सदस्यीय टोली गठन गरेको थियो ।