यज्ञराज उपाध्याय / कैलाली । टीकापुर अस्पताल विकास समितीले आर्थिक बर्ष २०७४/०७५ को अन्तिम दिन अस्पतालको बारेमा पत्रकार सम्मेलन गर्दै पुरै आर्थिक बर्षको समीक्षा गरेको छ । अस्पताल विकास समितिका अध्यक्ष रतन खड्काले अस्पतालले आर्थिक बर्ष २०७४/०७५ मा गरेका कार्यहरु र गर्न नसकेका कार्यहरुका बिषयमा पत्रकार सम्मेलन गरेका हुन ।
जिल्ला अस्पतालको मान्यता प्राप्त गरिसकेको टीकापुर अस्पताललाई सेती अञ्चल अस्पताल पछिको ५१ शैयाको ठूलो अस्पतालका रुपमा निर्माण गरिएको भएता पनि अस्पतालमा दरबन्दी अनुसारका डाक्टरहरु नहुँदा बिरामीहरुलाई दिईने सेवामा कमि हुन थालेको छ । टीकापुर अस्पतालले दरबन्दी अनुसारका दक्ष जनशक्ति र बजेटको अभावका कारण अस्पताल विकास समितीबाट अहिलेसम्म अस्थायी करारका कर्मचारीहरु नियुक्त गरि स्वास्थ्य प्रवाह गरिरहेको छ । अस्पतालमा विभिन्न रोग सम्बन्धि विशेषज्ञ डाक्टरका लागि नेपाल सरकारले तोकेको दरबन्दी अनुसारका डाक्टरहरु सरकारले नपठाएका कारण जिल्लाको पुर्वि क्षेत्रको मुख्य अस्पतालको रुपमा रहेको टीकापुर अस्पतालमा समयसापेक्ष समस्या उत्पन्न हुने गरेको छ । अहिले अस्पतालमा विशेषज्ञ चिकित्सकका रुपमा मे.सु.डा. नरेन्द्र कुमार खनाल मात्र रहेका कारण उनी एक्लैले अस्पतालका सबै बिरामीलाई हेर्न नसक्ने केही अगुवाहरुको धारणा रहेको छ ।
अस्पतालले २०७३ माघ देखि २०७५ असाढ मसान्त सम्म भएका महत्त्वपूर्ण कार्यहरुको प्रगती विवरणलाई समट्दै बनाएको प्रतिवेदनको पहिलो नम्बरमा अस्पतालको आन्तरिक सरसफाइ तथा माटोपटानी गरेको कुरालाई जोडदारका साथ उल्लेख गरेको छ । त्यस्तै अस्पतालले प्रगती विवरणमा अस्पताल भित्र प्रवेश गर्ने मुख्य गेटहरुमा फलामे पाईप बिछ्याइएको, अस्पतालका कर्मचारी तथा डाक्टरहरुलाई पोशाकको अनिवार्य व्यवस्था, डेन्टल सेवाको सुरुवात, अस्पताल हाताभित्र सिसि क्यामेरा द्वारा निगरानी, पोस्टमार्टम घरको मर्मत र बिजुली ब्यवस्था, खोप केन्द्र भवन व्यवस्थापन, १ थान शव वाहनका लागि निर्णय सहित ३४ वटा कार्यहरु डेढ बर्षको अवधिमा गरेको बताईएको छ । अस्पतालमा ICU, NICU को लागि भवन निर्माण गरेर उद्घाटन समेत भैसकेको भएता पनि अहिलेसम्म अस्पतालमा ICU को व्यवस्ता नहुदा हजारौ बिरामी बाहिर जानू परेको समस्या पनि मुख्य बनेको सरोकारवालाले बताउने गरेका छन । विकास समितीले पहल गर्दा गर्दै पनि पूरा गर्न नसकेको कुराहरुलाई पनि प्रतिवेदनमा उल्लेख गर्दै ICU संचालन हुन नसकेको कुरालाई प्राथमिकता दिएको छ । अहिल १५ शैया सम्मको अस्पताल स्थानीय तहको मातहतमा रहने र सो भन्दा माथिको अस्पताल प्रदेश सरकारको मातहतमा रहने भएता पनि टीकापुर अस्पताललाई अहिलेसम्म स्थानीय तहले आफ्नो मातहतमा लिएको छ र प्रदेश सरकारले पनि केही ध्यान नदिएको अवस्था छ ।
संघिय स्वास्थ्य मन्त्रालयले टीकापुर अस्पताललाई प्रदेश सरकारले हेर्ने जिम्मेवारी दिएको भएता पनि प्रदेश नम्बर ७ को सरकारले भने टीकापुर अस्पताललाई सम्बोधन नगरेको अध्यक्ष खड्काले बताएका हुन । अस्पतालमा दरबन्दी अनुसारका विशेषज्ञ डाक्टर एवं दक्ष जनशक्ति नहुनु र अस्पतालमा अहिलेसम्म ICU सेवा सुरु हुन नसक्नु अस्पतालका मात्र नभई आम टीकापुर नगरपालिकाका जनताको मुख्य समस्या रहेको छ र यो सङ्ग सङ्गै अस्पतालले विद्युतको पुरानो बक्यौता रकम अन्तरगत रहेको ३८ लाख ८० हजार ४ सय २८ पुगेको रकम कसले तिनिदिने भन्ने बिषयमा विकास समितीको ध्यानाकर्षण भएको छ तर उक्त रकम तिर्नका लागि स्थानीय, प्रदेश अथवा केन्द्रिय कुनै पनि सरकारले ध्यानाकर्षण गरेको छैन जस कारणले अहिल नेपाल विद्युत प्राधिकरण टीकापुर शाखाले अस्पताल परिसरमै छुट्टै ट्रान्सर्फमर जोडि अस्पताललाई लाईन दिएको छ जसले अस्पतालमा दैनिक रुपमा आउने इमर्जेन्सी लगायत विभिन्न रोगका बिरामीहरुलाई असर पर्ने गरेको अध्यक्ष खड्को भनाई छ ।
टीकापुर अस्पताल टीकापुर बासिको मात्र नभई जिल्लाकै महत्त्वपूर्ण अस्पताल भएको यहाँका सामाजिक अगुवाहरुको भनाई छ तर बिशेष अस्पतालमा विभिन्न उपकरणहरु हुदाहुदै तिनिहरुलाई प्रयोगमा ल्याएर आमटीकापुर बासिलाई स्वस्थ बनाउनका लागि दरबन्दी अनुसारका डाक्टरहरु सरकारले नपठाउदा अस्पतालको मर्यादामा आच आउन थालेको छ । सर्पले टोकेर अस्पताल पुर्याइएका बिरामी, इमर्जेन्सी बिरामी लगायत विभिन्न रोगबाट ग्रसित बिरामीलाई टीकापुर अस्पतालले रिफर गरेर कोहलपुर, नेपालगन्ज पठाउनुको मुख्य कारण पनि यहि रहेको छ ।
अस्पताल विकास समितीले अस्पताललाई व्यवस्थित बनाउन र आमटीकापुर बासीलाई टीकापुर अस्पतालबाटै स्वास्थ्य सुविधा दिन अनवरत रुपमा काम गरिरहेको भएता पनि त्यो पूरा नसकेको भएता पनि अस्पतालले अझै हार मानेको छैन । गत आर्थिक बर्षमा पूरा नभएका कुराहरुलाई यो आर्थिक बर्षमा पूरा गर्ने लक्ष्यका साथ अघि बढेको अस्पताल विकास समितिले पत्रकार सम्मेलनका अवसरमा बनाएको प्रतिवेदनमा नव आर्थिक बर्ष २०७५/०७६ मा गर्नुपर्ने महत्वपूर्ण कार्यहरु अन्तर्गत ICU/NICU तथा इन्डोस्कोपी, भेन्टिलेटर एनेस्थेसिया कन्सल्टेन्ट सेवा संचालन गर्नुपर्ने, अस्पतालमा रहेको दक्ष जनशक्तिको दरबन्दीको पदपुर्ती गर्नुपर्ने, बिद्युतको पुरानो बाकी बक्यौता चुक्ता गर्नुपर्ने, शव बाहनको कार्यान्वयन छिट्टै गरिनुपर्ने, Lab सुदृढीकरण गर्नुपर्ने लगायतका कार्यलाई प्राथमिकता दिएको छ । अस्पताल विकास समितीका अध्यक्ष खड्काले अस्पतालमा विभिन्न सेवा सुविधालाई बढाउनका लागि र डाक्टरहरुको संख्या बढाउनका लागि विभिन्न समयमा स्वास्थ्य मन्त्रालयमा समेत ज्ञापनपत्र बुझाएको बताउदै केही कुरा पूरा भएको तर केही महत्त्वपूर्ण कुरा अझै पूरा हुन नसकेको दुखेसो पोखेका थिए ।