वरिष्ठ न्युरोसर्जन डा.उपेन्द्र देवकोटाको निधन:काजकिरिया सात दिनमा सम्पन्न गरिने

अनलाइन दर्पण 2018-06-18
img

काठमाडौं, ५ असार। वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको सोमबार साँझ निधन भएको छ । पित्तथैलीको क्यान्सरबाट पीडित उनको बाँसबारीस्थित नेसनल इन्ष्टिच्युट अफ न्युरोलोजिकल तथा एलाइड साइन्स (न्युरो अस्पताल) मा ५ बजेर ३५ मिनेटमा निधन भएको हो ।

उनी सो इन्स्टिच्यूटका संस्थापक तथा प्रख्यात स्नायुरोग विशेषज्ञ थिए । 

पित्तथैलीको क्यान्सरको बेलायतमा उपचार गराएका डा. देवकोटा स्वदेशमा नै देहत्याग गर्ने इच्छा बमोजिम फर्किएका थिए । स्वदेश फर्किएदेखि उनी आफैले स्थापना गरेको उक्त अस्पतालमा उपचाररत थिए ।

छ महिनाअघि बेलायतमा उपचार गर्न लगिए पनि रोग निको नहुने भएपछि उनी स्वदेशमै देहत्याग गर्ने इच्छासहित स्वदेश फर्किएका थिए ।

बिरामी अवस्थामा नै आफू जन्मेको घरको पिँढीमा सुस्ताउने र त्यहाँको सिस्नेधाराको पानी पिउने इच्छा गरेबमोजिम उनलाई गत हप्ता डा. देवकोटाकै चाहना अनुसार उनलाई गृह जिल्ला गोरखा लगिएको थियो ।

देवकोटाको पार्थिक शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि मंगलबार विहान ८ देखि दिउँसो १ बजेसम्म अस्पताल परिसरमा नै राखिनेछ । त्यसपछि नारायणगोपाल चोक, चक्रपथ हुँदै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने अस्पतालले जनाएको छ । उनको विद्युतीय माध्यमबाट शवदाह गरिनेछ ।

डा. देवकोटाको काजकिरिया उनकी पत्नी डा. मधु दीक्षित देवकोटा, तीन छोरीहरु मेधा, वसुधा र मञ्जरीले गर्ने विज्ञप्तिमा जनाइएको छ । काजकिरिया सात दिनमा सम्पन्न गरिने पनि अस्पतालले जनाएको छ ।

विसं २०१० पुस ४ गते गोरखाको पण्डितगाउँ लिगलिगमा जन्मनुभएका डा देवकोटाका श्रीमती र तीन छोरी छन् । 

सम्बन्धित समाचार