तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ७ मा दलितहरुका लागि कानुनी परामर्श तथा झुल बितरण कार्यक्रम बुधवार सम्पन्न भएको छ ।
तुलसीपुर उपमहानगरपालिका साविक वडा नम्वर ३ को लक्षित वर्ग अन्र्तगत दलितहरुका लागि बिनियोजित ८० हजारको बजेट बाट उक्त कार्यक्रम गरिएको हो । त्यस अवसरमा साविक वडा नम्वर ३ का दलित समुदायका सदस्यहरुको सहभागिता रहेको थियो । कार्यक्रममा अधिवक्ता बिष्णुमणि धितालले नयाँ संविधानमा दलितहरुको अधिकार तथा कानुनी ब्यवस्थाका बारेमा प्रशिक्षण दिएका थिए ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ७ का महिला सदस्य चित्रा मल्लको अध्यक्षता तथा वडा अध्यक्ष टोपबहादुर केसीको प्रमुख आतित्थ्यतामा भएको कार्यक्रममा बोल्दै अध्यक्ष केसीले दलितहरुको क्षमता वृद्धिका साथै अधिकार स्थापित गर्नका लागि आफुहरु सधै लाग्ने बताए ।
उनले दलित समुदायको स्तर माथि उठाउन सके मात्रै वडाको समग्र बिकास हुने भन्दै आगामी वर्षमा पनि क्षमता वृद्धिका बिभिन्न कार्यक्रमहरु गर्ने बताए । कार्यक्रममा वडा सदस्य रामबहादुर जिसी,दलित महिला सदस्य शारदा स्वर्णकार , दलित सञ्जालका संयोजक देवबहादुर विक लगाएतकाले बोलेका थिए ।
कार्यक्रममा साविक वडा नम्वर ३ का ७ वटै टोलका ६५ घरधुरिलाई झुल समेत बितरण गरिएको थियो । कार्यक्रमको सहजीकरण सामाजिक परिचालक लिना शर्माले गरेकी हुन ।