७ फागुन । युवा संघका अध्यक्ष राजीव पहारीले जाइनलाग्ने आइलाग्नेलाई नछाड्ने चेतावनी दिएका छन् । युवा संघ नेपाल धरान उपमहानगरको ११ औँ अधिवेशनको उद्घाटनमा बोल्दै शनिबार यस्तो चेतावनी दिएका हुन् । उनले आजका युवा आगामी सताब्दीलाई हाक्न सक्ने सक्षम भएको पनि दाबी गरे । उनले नेपालका हरेक युवा अनिवार्य उत्पादनमा जोडीनु पर्ने समेत बताए । ‘उत्पादनसँग जोडिएका युवाले मात्र सम्वृद्धिको सपना साकार बनाउन सक्छन्,’ उनले भने ।
पहारीले नेकपा (एमाले)मुलुकको प्रमुख शक्ति बन्दैगर्दा देशी–विदेशी शक्तिहरु कमजोरु बनाउन लागेको भन्दै उनले त्यस्ता शक्तिलाई परास्त गराएरै छाड्ने दाबी गरे । उनले नेपालमा तीन खालका अतिवादीहरुको रहेको पनि स्पष्ट पारे । ‘नेपाली कांग्रेस खोक्रो आदर्शको अतिवाद हो,’ उनले भने, ‘नेपालका सार्वजानिक संस्थालाई नीजिकरणको नाममा कांग्रेसले अस्तित्व नै नामेट बनायो ।’ उनले कांग्रेसलाई यथास्थितिवादको पराकाष्ठा भएको पनि आरोप लगाए । ‘वीपीको समाजवाद कांग्रेसले ‘साउथ ब्लक’ मा लगेर बुझायो,’ उनले भने, ‘अहिले एमाले अध्यक्ष केपी शर्मा ओलीले अघि सारेको सम्वृद्धिको सपनालाई भारतीय रेल चढ्न बानी परेकाहरुले विरोध गरेका छन् ।’
उनले माओवादीलाई राजनीतिक चरित्र नभएको झुण्डको संज्ञा दिए । ‘माओवादीहरु बनमान्छे हुन्,’ उनले भने, ‘एमाले असल मान्छेको संगठन भएकाले दुई पार्टीबीच कुरा नमिलेको हो ।’ उनले एमाले मधेसी जनताको असली पार्टी भएको पनि दाबी गरे । तराइका जिल्लालाई छुट्टै राज्य बनाउने मधेसका लेण्डुपहरुको सपना मात्र भएको पनि दाबी गरे ।
उनले आफ्ना कार्यकर्तामाथि कसैले आक्रमण प्रयास गरे युवा संघ चुप लागेर नबस्ने बताए । धरानका युवा नेता दिवस राईलाई आक्रमण गर्नेलाई सरकारले कारवाही नगरे युवा संघ आफैले गर्ने पनि चेतावनी दिए । कार्यक्रममा युवा संघ केन्द्रीय सचिव नरेश शाही, कार्यालय विभाग प्रमुख प्रभातविक्रम कटुवाल लगायतले पनि बोलेका थिए ।