हिलेपानीमा जिप दुर्घटना, दुईको मृत्यु, दुई गम्भीर घाइते

अनलाइन दर्पण 2018-06-07
img

ओखलढुङ्गा,२४ जेठ । ओखलढुङ्गाको मानेभञ्याङ गाउँपालिका–६ हिलेपानीमा आज बोलेरो जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । 

काठमाडौँबाट यात्रु लिएर सोलुखुम्बुतर्फ जाँदै गरेको ना १ ज ४९५० नंको बोलेरो जिप दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै ज्यान गएको हो ।  दुर्घटनामा परी मृत्यु हुनेमा ओखलढुङ्गा सुनकोशी गाउँपालिका–५ मूलखर्क बस्ने ४० वर्षीय सिङ्गे तामाङ र सोही ठाउँकी ३५ वर्षीया कैलीमाया तामाङ रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले बताए ।

दुर्घटनामा दुईजना गम्भीर घाइते भएका छन् ।  बोलेरो जिप चालक लालबहादुर तामाङ र सोही गाउँपालिका–५ मूलखर्कका २२ वर्षीय लोकेन्द्र तामाङ गम्भीर घाइते भएको जनाइएको छ । उनीहरु बोल्न नसक्ने अवस्थामा रहेको हिलेपानी प्रहरी चौकीले जनाएको छ ।  

बोलेरो जिप सडकबाट करीब ३०० मिटर तल भिरमा खसेको प्रत्यक्षदर्शीले बताएका छन् । जिपमा सवार कति जना थिए भन्ने खुल्न सकेको छैन । 

दुर्घटनास्थलमा उद्धार कार्य भइरहेको र शव सडकसम्म ल्याउने काम भइरहेको प्रहरीले जनाएको छ । सडकमा गुडिरहेको जिप अचानक ब्रेक फेल भएर दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । 

 

सम्बन्धित समाचार