कतारको अदालतद्वारा नेपाली नागरिक अनिल चौधरीलाई गोली हानेर मृत्युदण्ड दिन आदेश

अनलाइन दर्पण 2018-06-04
img

काठमाडाैं, २१ जेठ । कतारको अदालतले कतारी नागरिकको हत्या अभियोगमा नेपाली नागरिक अनिल चौधरीलाई मृत्युदण्डको फैसला सुनाएको छ । कतारी उमैर मोहोम्मद उमैर अल रमाजानी अल–नुयमीको हत्या अभियोग लागेका चौधरीलाई तल्लो अदालतका न्यायाधीस मुस्तफा अल वेदाहिवीको अध्यक्षतामा बसेको इजलासले गोली हानेर मृत्युदण्ड दिन फैसला गरेको हो । यद्यपि फैसलाको पूर्ण विवरण बाहिर सार्वजनिक गरिएको छैन ।

तल्लो अदालतले गरेको फैसलामाथि नेपाली दूतावासले भने चौधरीको जीवनरक्षाको लागि सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ। 

अनिल चौधरी औराही–१, मोहत्तरीका हुन् । चौधरी २०१५ अगष्ट २७ गते कतार गएका थिए। उनी कार वास कम्पनीमा सामान्य मजदुरको हैसियतमा काम गर्थे। उनलाई केन्द्रीय कारगारमा राखिएको छ। 

उनी कतारी नागरिक अल नुएमीको हत्या अभियोगमा सन् २०१७ अप्रिलको पहिलो साता पक्राउ परेका थिए। हालसम्म हत्या अभियोग लागेका नेपालीहरु मध्ये चौधरीविरुद्व आएको आदेश सबैभन्दा कडा हो। सर्वोच्चमा बहस गर्नका लागि लाग्ने वकिल खर्च झन्डै ३० हजार रियाल अर्थात् नेपाली ६ लाख रुपैयाँ राजदूतावासले सरकारसँग माग गरेपछि, परराष्ट्र मन्त्रालयले श्रम मन्त्रालय हुँदै वैदेशिक रोजगार प्रर्वद्धन बोर्डलाई पैसा उपलब्ध गराउन अनुरोध गरेको छ। बोर्डले बजेट उपलब्ध गराउने सम्बन्धमा छलफल भइरहेको जनाएको छ। 

नेपालीद्वारा कतारी नागरिकको हत्या गरिएको यो नै पहिलो घटना हो। कतारमा नेपालीद्वारा नेपालीकै हत्या अभियोगमा लागेकाहरु भने १० जना जेलमा छन्। 

सम्बन्धित समाचार