काठमाडौं, ७ फागुन। फागुन १४ गते निर्धारण गरिएको स्वतन्त्र बिध्यार्थी यूनियनको निर्वाचन चार दिन सरेपछि त्रिभुवन विश्वबिद्यालयले आगामी फागुन १८ गते हुने स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचनको लागि नयाँ कार्यतालिका सार्वजनिक गरेको छ ।
त्रिवि कार्यकारी परिषदको हिजो बसेको बैठकले एक साता लामो स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।
नयाँ कार्यतालिका अनुसार फागुन ११ गते बिहान १० बजेभित्र मतदाता सूची प्रकाशित गर्ने । त्यसै दिन २ बजेसम्म मतदाता सूचीउपर दावी बिरोध गर्ने र फागुन १२ गते १२ बजेसम्म मतदाताको अन्तिम नामावली सार्वजनिक गर्ने कार्यतालिका छ ।
फागुन १२ गते नै १२ देखि ५ बजेसम्म प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारको मनोनयत वितरण गरिनेछ । फागुन १४ गते उम्मेदवारी दर्ता हुनेछ भने १५ गते मध्यान्ह १२ बजे सम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुनेछ । १५ गते नै दिउँसो ३ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ भने ५ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।
परिषदको बैठकले १८ गते हुने निर्वाचनको समय सम्बन्धित क्याम्पसलाई नै तय गर्न छुट दिएको छ ।