टुकीकै भरमा मास्तीघाट र खहरेटार बस्ती

अनलाइन दर्पण 2018-05-07
img

दमौली । चारैतिर आधुनिक बिजुली बत्तीले झलमल उज्यालो रहे पनि तनहुँको व्यास नगरपालिका–१४ स्थित मास्तीघाट र बन्दीपुर गाउँपालिका–६ खहरेटारका ८४ घरधुरीका बासिन्दा अहिलेसम्म पनि टुकीको भरमा रात गुजार्न बाध्य भएका छन् । राजनीतिक पहुँच नहुँदा त्यहाँका बासिन्दा टुकीको भरमा रात गुजार्न बाध्य भएका हुन् ।

हुनेखाने केहीले घरमा सोलार जोडे पनि खहरेटार र मास्तीघाटका अधिकांश व्यक्ति मैनबत्ती र टुकी बत्ती बालेर रात काट्न बाध्य  छन् । गरिबी, विपन्नता र अभावका बीच सधैँ बस्दै आएका ८४ घरधुरीका बासिन्दा सदरमुकाम बिजुली बत्तीले उज्यालो रहे पनि आफ्नो बस्तीमा कहिल्यै उज्यालो हेर्न नपाएको बताउँछन्।

त्यस्तै, बन्दीपुर गाउँपालिका–६ खहरेका ३२ घरधुरीसमेत अन्धकारमा रात काट्न बाध्य हुँदै आएका बताइएको छ । बिजुली नपुगेका कारण त्यस क्षेत्रका बासिन्दा सूचनाबाट समेत वञ्चित हुँदै आएका छन् ।

बन्दीपुर गाउँपालिकाकी उपाध्यक्ष करुणा गुरुङले विद्युतीकरण नपुगेका गाउँगाउँमा बजेटमा प्राथमिकता दिई बिजुली पुर्याउने लक्ष्य आफूहरुको रहेको बताए ।

मिलीजुली मास्ती टोल विकास संस्थाका अध्यक्ष यामबहादुर थापाले पटकपटक विद्युतीकरणका लागि आवाज उठाए पनि पाउन नसकेको जानकारी दिए । व्यास नपा–१४ का अध्यक्ष काजीमान श्रेष्ठले मास्तीघाट वरपरको क्षेत्रमा एक वर्षभित्रमा बिजुली पुर्याउने बताए ।

नयाँगाउँमा रहेको ट्रान्सफर्मरबाट मास्तीमा बिजुली पुर्याउने लक्ष्य आफ्नो रहे पनि विद्युत् कार्यालयले नै त्यस क्षेत्रमा विद्युत् विस्तार गर्ने जनाएपछि ढिलाइ भएको श्रेष्ठकाे भनाइ छ । 

सम्बन्धित समाचार