काठमाडौंका मूर्ति पसलेको यस्तो धन्दा

अनलाइन दर्पण 2018-05-06
img

काठमाडौं, २३ वैशाख । काठमाडौंमा मूर्तिको व्यवसाय गर्ने व्यवसायीहरुले पूरातात्कि महत्वका मूर्ति र धातुजन्य बस्तुको तस्करी गर्ने गरेको भेटिएको छ । 

मूर्तिकाे काराेबार गर्ने व्यवसायीहरूले पुराना मूर्तिहरुलाई नयाँ देखाउन पेन्ट गरी मूर्तिको अवैध कारोबार गर्ने गरेको भेटिएको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले पूरातात्विक महत्वका मूर्ति बिक्री गर्ने ३ जना व्यापाराीलाई काठमाडौंबाट पक्राउ गरेको छ । 

काठमाडौंको दरबारमार्गस्थित क्यूरियो आर्टमा ८–९ सय वर्ष पुराना मूर्तिहरु बिक्री गर्दागर्दै प्रहरीले दिपकरत्न शाक्यलाई पक्राउ गरेको हो । क्यूरियो आर्ट पसलका सञ्चालकसहित प्रहरीले देवराज आर्टका सञ्चालक शिशिर शाक्यलाई पनि पक्राउ गरेको छ । यस्तै दरबारमार्गको क्यूरियो कन्सर्नका सञ्चालक सुगतरत्न शाक्यलाई पनि पक्राउ गरेको छ । 

प्रहरीले उनीहरुको साथबाट १८ थान विभिन्न बुद्ध र अन्य मूर्ति, १८ थान विभिन्न धातुबाट बनेका प्रतिमालगायत पाता र १०१ थान बीचमा प्वाल भएका पुराना सिक्का बरामद गरेको छ । 

तीन पुस्तादेखि नै मूर्ति व्यवसायमा संलग्न उनीहरुले यसअघि पनि पुरातात्विक महत्वका मूर्ति बिक्री गरेको हुनसक्ने सिआईबी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) पुस्कर कार्कीले बताए । 

उनीहरुले नयाँ मूर्तिलाई पुरानोजस्तो लुक दिएर पनि करोडौं मूल्यमा मूर्ति बिक्री गर्ने गरेको प्रहरीको भनाइ छ । 

प्राचिन मूर्तिहरु नेपालबाट खास गरेर पश्चिमा मुलुकमा तस्करी हुने गरेको डिआईजी कार्कीले बताए । 

मूर्तिको तस्करीमा अन्तर्राष्ट्रिय गिरोह समेत संलग्न रहेको भन्ने सूचना प्राप्त भएको भन्दै सिआईबीले त्यस्तो गिरोहको खोजी भइरहेको जनाएको छ ।    
 

सम्बन्धित समाचार