अष्ट्रेलियाका १०४ वर्षे वैज्ञानिक डेविड गुडअलले इच्छा मृत्युका लागि आफ्नो घर छोडेका छन् । आफ्नो जीवनको अन्त्य गर्न वैज्ञानिक गुडअल यात्रामा निस्किएका हुन् ।
डेविड गुडअल बोटनी र इकोलोजीका वैज्ञानिक हुन् । १०४ वर्षको उमेरमा पनि उनी क्रियाशील छन्, कुनै रोग तथा विरामीले चापेको छैन तरपनि गुडअल आफ्नो जीवनको सम्मानजनक अन्त चाहन्छन् ।
गएको महिना आफ्नो जन्मदिनको अवसरमा अष्ट्रेलियन ब्रोडकाष्टिङ कर्पोरेशनलाई अन्तर्वार्ता दिँदै गुडअलले भनेका थिए, ‘मलाई यो उमेरसम्म बाँचेकोमा खेद छ, म खुशी छैन र म मर्न चाहन्छु । यो दुख मान्नुपर्ने कुरा त होइन तर यसलाई नकार्न पनि त सकिन्न किनकी म अब स्वतन्त्र रहन सक्दिन ।
लामो विवादपछि गएको वर्ष अष्ट्रेलियाको एउटा मात्र राज्यमा इच्छा मृत्युको अनुमति दिने प्रावधानलाई मान्यता दिइएको थियो । तर त्यसको लागि पनि गम्भिर विरामी हुनु आवश्यक पर्छ । गुडअलका अनुसार उनी इच्छा मृत्युका लागि स्विजरल्याण्डकोे एक क्लिनीकमा जानेछन् ।
लण्डनमा जन्मिएका गुडअलले सन् १९७९ मै जागिर छोडेका थिए तरपनि उनी विभिन्न कामहरुमा व्यस्त रहे । तर पछिल्लो समय गुडअल खुशी रहन छोडेका थिए । गएको महिनाको एक घटनाले उनलाई मृत्यु रोज्नको लागि प्रेरित गरेको उनका साथी केरल ओ नीलले बताए ।
गुडअल एकदिन घरमा लडे । उनलाई दुईदिनसम्म कसैले देखेनन् । पछि उनलाई चिकित्सकले २४ घण्टा रेखदेख गर्ने व्यक्तिको आवश्यकता रहेको बताए र अस्पताल भर्ना गरे ।
केरल ओ नीलका अनुसार गुडअल सँधै एक्लै बसे । उनलाई आफ्नो वरीपरी कोहि बसेको मन पर्दैन र कोहि नचिनेको मान्छेले आफ्नो रेखदेख गरोस भन्ने चाहन्नन् ।