पाँचथर फिदिमका गुरुङ रामप्रकाश समथिङले करिब बीस वर्ष भयो, मलामी अभियान चलाएको ।
कोही मर्यो भन्ने थाहा पाए भने उनी वेगसाथ कुद्छन् ।
आफू मात्र होईन अरुलाई पनि सँगै लैजान्छन् ।
मलामी जान चिनेकै हुनुपर्छ भन्ने छैन् । मर्ने ब्यक्ति आफ्नो नातेदार या छरछिमेक नै हुनुपर्छ भन्ने छैन । कसैले निम्तो पनि गर्नुपर्दैन ।
किन ?
यो ‘किन’ भन्ने प्रश्न नै बेमुनासिब लाग्छ उनलाई ।
‘मान्छे म्रयो, मलामी जानुपर्छ’, ४८ बर्षिय समथिङ भन्छन्, ‘कि पदैर्न’ ?
बजार क्षेत्रमा (पाँचथर, फिदिम) बस्नेहरु धनी गरिब छुट्याएर मात्रै मलामी जान थाले । मलामी जाने कुरामा पनि जात र भातको प्रभाव रह्यो । उच्च घराना र ओहदामा रहेका ब्यक्तिको घरमा मरण हुँदा मलामी खचाखच हुने तर गरिब, दलित र निस्सहाय ब्यक्तिको मरण हुँदा किन छिमेकीले पनि नदेखेझैं गर्ने ? यो कुरा उनलाई चित्त बुझेन । त्यसैले २०५३ सालदेखि उनले मलामी अभियान शुरु गरे । सके अरुलाई पनि मलामी जान प्रेरित गर्ने नसके आफै मात्र भएपनि जाने । चाहे जो सुकै मरोस् । चिनेको या नचिनेको । धनी या गरिब । भन्छन् ‘हातपाउले टेकेर हिड्न सक्दासम्म गईरहन्छु (मलामी)’।
मान्छेहरु धनी गरिब हरेर मात्रै मलामी जान थाले । मलामी जाने कुरामा पनि जात र भातको प्रभाव रह्यो । उच्च घराना र ओहदामा रहेका ब्यक्तिको मरण हुँदा मलामी जानेहरु टन्नै हुने तर गरिब, दलित र निस्सहाय ब्यक्तिको मरण हुँदा छिमेकीले पनि नदेखेझैं गर्ने, किन ? त्यसैले मलामी अभियान शुरु भयो, पाँचथरमा ।
‘ग्रामिण क्षेत्रमा वसोवास गर्नेहरु बजारका मान्छेको भन्दा भावनामा उच्च छन् । चितामा चढाएको शबको अन्त्येष्टि नभईन्जेलसम्म कुरेर बस्छन् । किरियापुत्रीलाई अघि लगाएर मात्रै घर फिर्छन । त्यतिमात्र होईन मरेको घरमा केही पुगअपुग होला भनेर सामल (चामल) लिएर जान्छन, किरिया अवधि भर घाँस दाउरा गरिदिन्छन्’ समथिङ दुखेसो पोख्छन्, ‘तर शहर बजारमा बस्नेहरुले त्यो सँस्कृति भुलिसके’ । शहरका मानिसहरु प्राय मलामी जाँदैनन् । गएकाहरुलाई पनि फर्कनै हतार हुन्छ । अन्तिममा किरियापुत्री एक्लो जस्तो देखिन्छ । उनी भन्छन्, ‘यी र यस्तै घटनाले हो मलाई मलामी जान प्रेरित गर्ने ’ ।
मलामी जाँदा समथिङ अन्त्येष्टिका सामग्री जुटेका छन् कि छैनन् वुझ्छन् । अनि नजुटेको भए जुटाउनतिर लाग्छन् । अन्त्येष्टिका सामग्री समेत किन्न नसक्ने परिवार भए आफ्नै पैसाले किनिदन्छन् । आफूसँग पनि नभए आएका मलामीसँग पैसा संकलन गरेर गर्जो टारिदिन्छन् । शवलाई घाटमा पुर्याएपछि दाउराको जोहो गर्नेदेखि चिता बनाउने, जलाउने सबै काममा उनी अगाडि नै खटिन्छन् । घाटमा गर्ने सवै कर्म सकेपछि किरिया पुत्रीलाई अगाडि लगाएर मात्रै उनी घर फर्कन्छन् । सधै ।
त्यसैले कहिँ कतै (घरवाहिर गएको बेलामा) कसैको मलामीमा समथिङ देखिएनन् भने फिदिमवासीहरुले भन्न थालेका छन्, खोई समथिङ ? ‘कसैको मरणमा समथिङलाई देखिएन भने के–के नपुगेजस्तै लाग्छ ’ फिदिमका युवा मंगलबहादुर बेघा भन्छन् ।
पछिल्लो समयमा उनले मलामी गएको रेकर्ड राख्न थालेका छन् । डायरीमा दैनिकी लेख्न थालेका छन् । र फेसबुकमा फोटो र सुचना राख्न थालेका छन ।
उनको डायरी पल्टाँउदा थाहा भयो, पछिल्लो पाँच वर्षमा मात्र उनले दुई सय सत्तचालिस पटक मलामी गएका रहेछन । डायरीमा उनले लेखेका छन्, ‘अहिले आफुले पर्म (आलोपालो गरी एकले अर्काको काम गरिदिने चलन) लगाए पो पछि आफ्ना पालोमा पनि पर्म तिर्न आँउछन त’ । Source: HamroKatha