माओवादी केन्द्रका तर्फबाट मेयरमा जितेका सियाराम हत्यारा ठहरिए, पाए जन्मकैदको फैसला

अनलाइन दर्पण 2018-04-06
img

वीरगन्ज, २४ चैत । रौतहट जिल्लास्थित कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहालाई जनकपुर उच्च अदालतले जन्मकैदको फैसला सुनाएको छ ।

वीरगञ्जमा हिन्दु युवा संघका तत्कान केन्द्रीय अध्यक्ष काशीनाथ तिवारीको हत्या अभियोगमा कुशवाहालाई उच्च अदालतले हत्या अभियोगमा जन्मकैदको सजाय भएको हो । जनकपुर उच्च अदालतको अस्थायी इजलास वीरगञ्जले गत फागुन २८ गते कुशवाहालाई जन्मकैदको फैसला सुनाएको जनाइएको छ ।

कुशवाहाले माओवादी केन्द्रका तर्फबाट मेयरमा जितेका हुन् । माओवादीका नेता प्रभु साह निकट मानिन्छन् । कुशवाहालाई ठूलो राजनीतिक संरक्षण रहेको छ । हत्या अभियोगमा माओवादीकै नेता बालकृष्ण ढुंगेल डिल्लबजार खोरमा छन् ।

यसअघि तिवारीको हत्या अभियोगमा चार वर्ष पहिले नै पक्राउ परेका सियारामलाई पर्सा जिल्ला अदालतले सफाइ दिएपछि रिहा भएका थिए । चार वर्ष पहिलेको जिल्ला अदालतको उक्त फैसालालाई उल्टयाउँदै जनकपुर उच्च अदालतको अस्थायी इजलास वीरगञ्जले कुशवाहालाई जन्मकैदको फैसाला सुनाएको छ ।

जनकपुर उच्च अदालतको वीरगञ्ज इजलासका न्यायधीशद्वय लेखनाथ घिमिरे र नारायणप्रसाद श्रेष्ठको संयुक्त इजलाशले फागुन २८ गते नै कुशवाहालाई जन्मकैदको फैसला सुनाएको हो । त,र उनलाई प्रहरीले अहिलेसम्म पक्राउ गरेको छैन ।

जनकपुर उच्च अदालतको अस्थायी इजलास वीरगञ्जका रजिष्ट्रार बाबुराम दाहालले अदालतको फैसला कार्यान्वयनका लागि फैसलाको लगत जिल्ला अदालतमा पठाएपछि जिल्ला अदालतले जिल्ला प्रहरी कार्यालयमार्फत कुशवाहाविरुद्ध पक्राउ पुर्जी जारी गर्ने बताए ।

हिन्दु युवा संघका तत्कालीन अध्यक्ष काशीनाथ तिवारीको २०६७ साल असार १२ गते साँझ वीरगञ्जको अशोकवाटिकास्थित शिव पार्वती मन्दिर परिसरमा गोली हानी हत्या गरिएको थियो ।

प्रहरीका अनुसार, मोटरसाइकलमा सवार भएर मन्दिरमा पुगेका सियराम कुशवाहा र बाराको हरैयाका अमनप्रसाद कुशवाहामध्ये सियरामले पेस्तोलबाट गोली चलाएर तिवारीको हत्या गरेका थिए ।

हत्यापछि फरार रहेका सियरामलाई प्रहरीले तिवारीको हत्या भएको साढे तीन वर्षपछि २०७० साल पुस १ गते चितवनको भण्डराबाट पक्राउ गरेको थियो ।

जिल्ला अदालत पर्साले निर्दोष रहेको भन्दै सफाइ दिएपछि उनी पक्राउ परेको एक महिनामै रिहा भएका थिए । तिवारीको हत्यामा संलग्न बारा हरैयाका अमनलाई भने प्रहरीले २०६८ साल भदौ २२ गते पक्राउ गरको थियो । अमन हाल वीरगञ्ज कारागारमा छन् । अमनकै बयानका आधारमा प्रहरीले सियारामलाई पनि पक्राउ गरेको थियो ।

स्थानीय तहको निर्वाचनमा रौतहटको कटहरिया नगरपालिकाको मेयरमा निर्वाचित सियरामले जन्मकैदको फैसलाबारेमा आफूलाई कुनै जानकारी नभएको बताएका छन् । मेयर सियारामले उच्च न्यायालयको फैसलाविरुद्ध आफूले सर्वोच्च अदालतमा अपील गर्ने बताएका छन् । रौतहटका प्रहरी प्रमुख एवम् उपरीक्षक यज्ञ विनोद पोख्रेलले मेयर सियारामको फैसलाबारे आफूलाई कुनै जानकारी नभएको बताए । दैनिक नेपालबाट साभार गरिएको ।

सम्बन्धित समाचार