भक्तपुर। भक्तपुर नगरभित्र खानेपानीको चरम अभाव भएको छ । सुख्खायामको शुरुवातसँगै उत्पादनमा कमी आएपछि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (काउखालि)ले हप्तामा एक दिन मात्र पानी वितरण गर्न थालेपछि नगरभित्र खानेपानीको अभाव चुलिँदै गएको हो ।
‘११ दिन भैसक्यो धारामा पानी आएको छैन । इनारमा नि पानी छैन । कति किनेर खानु ?,’ बिहिवार पानी आउने आशमा रित्ता गाग्री लिएर धारा कुरेर बसेकी भक्तपुर नगरपालिका—६ का रामकेशरी सुवालले भन्नुभयो, ‘आज पानी आउँछ रे त्यही भएर धारा कुरेर बसेको ।’ चुनाव ताका भोट माग्न आउँदा सबै समस्याको समाधान गर्ने वाचा गर्ने जनप्रतिनिधिहरुले दैनिक अतिआवश्यक खानेपानीको व्यवस्था गर्न चासो नदिएको उहाँले गुनासो गर्नुभयो ।
त्यस्तैगरी भनपा वडा नं —१० का कृष्णश्वरी अवाल धारामा पानी आउँछ की भनी कुर्दा कुर्दा दिनै बित्ने गरेको दुःखेसो पोख्नुभयो । ‘धारामा पानी आउने ठेगान छैन । आज आउँछ भोली आउँछ भन्दाभन्दै दुई हप्ता नाघिसक्यो खै के गर्नु । पानीको समस्याले अरु कामनै लथालिङ्क भैसक्यो ।’ उहाँले भन्नुभयो । सुख्खा मौसमका कारण सार्वजनिक ईनारमा समेत पानी सुकेर पानीको समस्या बढ्न थालेपछि टोलका दुई तीन घर मिलेर ट्यांकरको पानी किनेर दैनिक गुजारा चलाउनु परेको उहाँले बताउनुभयो ।
बढ्दो सुख्खायामसँगै भक्तपुर नगरका अधिकाशं क्षेत्रमा पानीको हाहाकार मच्चिएको छ । भएका मुहानहरु सुक्दै गएकाले सार्वजनिक ढुगेंधारा, इनार र पोखरीहरुमा समेत पानी सुक्दै गएको छ । हप्ता दिन बिराएर धारामा पानी आएपनि ढल मिसिएर आउने समस्याले भक्तपुर नगरबासी थप समस्यामा परेका छन ।
केही साता यता नगरका इताछें, बंशगोपाल, बाराहीस्थान, व्यासी लगायतका ठाउँमा धारामा ढल मिसिएको पानी आउने गरेको स्थानीयले बताएका छन् । ‘धारामा पानी आउँदा कहिले कालो लेदो त कहिले सावुनको फिज जस्तो पानी आउँछ ।’ भक्तपुर व्यासीका कान्छी कोजुले भन्नुभयो, ‘करिब आधा घण्टा पछि भने सफा पानी आउँछ तर सफा पानी आएको एकछिन पछि धारा सुक्छ ।’
काउखालि भक्तपुर शाखाका धारा निरिक्षक दामोदर गिरीले सुख्खायामका कारण भक्तपुरका कोर एरियाहरुमा पानीमा ढल मिसिएर आउने समस्या देखा पर्ने गरेको स्विकार गर्नुभयो । नगरका पुराना र जिर्ण पाइप लाइनका कारण ढल मिसिने समस्या देखा पर्ने गरेको उहाँले बताउनुभयो ।
निरिक्षक गिरीले भक्तपुर नगरभित्र जर्मन प्रोजेक्ट अन्तर्गत ढल बिस्तार गर्ने क्रममा खानेपानीका पाईपसँगै ढलका पाईप बिस्तार गरेका कारण अहिले समस्या देखा परेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘ढलका मंगालमै खानेपानीका पाईप छन त्यसैले सुख्खा याममा पानीमा ढल मिसिने समस्या देखा परेको छ ।’
काउखालिले भक्तपुर नगरलाई दुई भागमा विभाजन गरेर बोडे र मुहान पोखरी स्रोतकेन्द्र नगरकोटको पानी वितरण गर्दै आइरहेको प्रमुख सुरेन्द्र हिमालयले बताउनुभयो । ‘नगरको टौमढीदेखी पश्चिम भेगमा बोडेको पानी पाँच दिन बिराएर र पुर्वी भागमा मुहान पोखरीको तिन दिन बिराएर वितरण गर्दै आईरहेको छौं, उहाँले भन्नुभयो, ‘हाल भक्तपुरमा दैनिक ८० लाख लिटर पानीको माग रहेको छ । तर काउखालीले ४०÷५० लाख लिटर मात्र पानी वितरण गर्दै आएका छौं ।’
बढ्दो पानीको समस्या निराकरणका लागि भक्तपुरमा २ वटा डिप ट्युववेल खने पनि पानीमा माटोको मात्रा बढी भएका कारण वितरण गर्न नसकिएको उहाँले बताउनुभयो । उहाँले मेलम्चीको पानीका लागि पहल भईरहेको जानकारी दिँदै त्यस भन्दा अघि ट्युवेलको पानी प्रशोधन गरी वितरण गर्ने योजना रहेको बताउनुभयो ।
भक्तपुर नगरमा दर्ता नभएका नीजि धारा रहेका छन । स्थानीयका घरघरमा जडान भएका धाराहरु वर्षौं भईसक्दा पनि ती धारा काउखालिमा दर्ता भएका छैनन । भक्तपुर नगरलाई सफा बनाउने योजना अनुरुप जर्मन प्रोजेक्टले ढल बिस्तार गर्ने क्रममा सर्वसाधारणले जोडेका धाराहरु अझै दर्ता प्रक्रियामा आउन नसकेको काउखाली स्रोतले जानकारी दिए ।
‘ती धाराहरु दर्ता प्रकृयामा आउन कति अनुरोध गरें तर उपभोक्ताहरु मान्दैनन् ।’ काउखालीका एक कर्मचारीले नाम उल्लेख नगर्ने शर्तमा भने ‘निरिक्षण गए जथाभावी गाली गर्ने र कुटांैला जस्तो व्यवहार गर्छन । ज्यानकै जोखिम हुन्छ हामीले के गर्ने ?
सुख्खायामसँगै सूर्यविनायक नगरपालिका वडा नंं २,३ र ४ मा पनि खानेपानीको चरम अभाव सुरु भएको छ । नगरपालिकाको वडा नंं १ र ४ मा खानेपानी वितरण गर्दै आएको दधिकोट बृहत खानेपानी सरफाइ मूल उपभोक्ता समितिले समेत अहिले मागअनुसारको खानेपानी वितरण गर्न सकिरहेको छैन ।
सुख्खायामको समय त्यसमाथि पनि परम्परागत श्रोतको अभाव, सबै काममा धाराकै पानीमा निर्भर रहनु पनि अहिले समस्याको कारण रहेको दधिकोट बृहत खानेपानी तथा सरफाइ मूल उपभोक्ता समितिका अध्यक्ष अनिलकुमार श्रेष्ठ बताउनुहुन्छ । त्यसो त बढ्दो अवस्थित शहरीकरणका कारण पनि माग अनुसारको पानी वितरण गर्न नसकिएको समितिले जानकारी दिएको छ । बढिरहेको छ । हाल वडा नंंं ४ अन्तर्गत समितिले वितरण गरेको धारामा केही उपभोक्ताहरुले अनाधिकृत रुपमा पुम्प चलाइ आफूले मात्र पानीको प्रयोग गरेको समेत पाइएको छ । गएको दुई महिनामा यसरी अनाधिकृत रुपमा पम्प चलाएर पानी तानेका ९ जना उपभोक्तालाई समितिले कारबाही समेत गरेको छ । हाल वडामा वितरण गरिएको पानीलाई यथासम्भव समाधान गर्न समिति क्रियाशील भएको श्रेष्ठले बताउनुभयो ।
हाल उपलब्ध रहेको पानीको श्रोतबाट नै उपभोक्ताहरुलाई खानेपानी वितरण गरिएकाले स्वभाविक रुपमा केही समस्या आएको समितिले जानकारी दिएको छ । हालै नगरपालिकाको वडा नं. ४ महादेव खोला नजिक एउटा डिप बोरिङ कार्य सम्पन्न भएको र यसै आर्थिक बर्षभित्र पानी सुचारु हुने समितिले बताएको छ । त्यसको साथै अघिल्लो बर्षको जेठ महिनादेखि श्रोत अभावकै कारण कुनैपनि नयाँ धारा जडान नगरिएको र अर्काे व्यवस्था नगरुन्जेल नयाँ धारा जडान प्रक्रिया अगाडि नबढाइने समितिका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।-अनन्त सन्देश