धुलाबारी । झापाको मेचीनगर नगरपालिका–३ तिम्सिनेका स्थानीय शव जलाउने घाटको पानी खान बाध्य छन् । गाउँमा खानेपानीको अर्को विकल्प नहुँदा उनीहरू घाटको पानी खान बाध्य भएका हुन् । इलाम जिल्लासँग सिमाना जोडिएको यो गाउँ भएर बग्ने निन्दा खोलामा वरपरका गाउँबाट दाहसंस्कारका लागि शवहरू ल्याइन्छन् । प्रायः हरेक दिनजसो कुनै न कुनै शवको दाहसंस्कार भइरहेको हुन्छ । तर, त्यसै ठाउँको पानी खान बाध्य छन् स्थानीय ।
‘हामीसँग अरू विकल्प नै छैन,’ स्थानीय गोमा नेपालले भनिन्, ‘हामीले जान्दादेखि नै यही पानी खाँदै आएका छौँ ।’ गोमा बिहान झिसमिसे नहुँदै गाग्री बोकेर खोला पुग्छिन् । उनले पानी भर्ने ठाउँको लगभग १० मिटर मास्तिर दाहसंस्कारपछि नजलेका काठका मुढा आधा पानीमा हुन्छन् भने आधा मास्तिरै देखिएका हुन्छन् । पानीमा दाहसंस्कारको कोइलाबाट बनेको अंगारका टुक्राहरू प्रशस्तै देखिन्छन् । गोमालाई डर छ, कतै बिहान शव नल्याऊन् । बिहन शव ल्याए भने दिनभर पानी भर्न पाइँदैन । निन्दा इलामको सिमानाबाट सुरु भएको सामान्य नदी हो । गाउँमा खोलाको पानी खान सुरु गर्दा गोमा जन्मिएकै थिइनन् ।
तिम्सिने झापाकै विकसित नगरमध्येको मेचीनगर नगरपालिकाको वडा नम्बर ३ मा पर्दछ । ०२१ सालदेखि यो गाउँमा बस्ती बसेको स्थानीयको भनाइ छ । त्यसवेलादेखि खान सुरु भएको घाटको पानी अहिलेसम्म कायमै छ । गाउँमा कतैबाट पनि शुद्ध खानेपानीको व्यवस्था हुन सकेको छैन । गाउँमा बाटो पनि पुगिसक्यो । स्कुल, स्वास्थ्य केन्द्र सबै छन् । तर, खानेपानीको भने सधैँ समस्या । निन्दा खोलाको यो ठाउँबाट दुई दर्जन बढी परिवारले पानी प्रयोग गर्दै आएका छन् । तर, गाउँका सबैको एउटै चाहना हुन्छ, खोलामा बिहानै शव नल्याऊन् । प्रायः सबै घरबाट बिहान झिसमिसेमा खोलामा जान्छन् र दिनभरलाई पुग्ने पानी घरमा सञ्चय गर्दछन् ।
‘पूरै गाउँमा पानी छैन, खोलाबाट टाढा घर भएकालाई त अधिकांश समय पानी बोक्नमै बित्छ,’ गोमाले भनिन्, ‘दिउँसो शव ल्याएर जलाए भने पानी खानै पाइँदैन ।’ लामो समयदेखि घाटको पानी खान बाध्य भए पनि शुद्ध खानेपानीका लागि कतैबाट पहल भएको छैन । ‘हामी दशकौँदेखि घाटको पानी खाएर बाँचेका छौँ,’ स्थानीय तिलकबहादुर सोङमेनले भने, ‘तर पनि कतैबाट खानेपानीका लागि पहल भएन ।’ चुनावका वेला प्रायः सबै राजनीतिक दलहरूले तिम्सिनेमा खानेपानीको व्यवस्था गर्ने आश्वासन दिए पनि त्यो नारामा मात्र सीमित भएको उनको गुनासो छ । एकातिर घाटको पानी खानुपर्ने बाध्यता छ भने अर्कोतिर टाढा घर भएकाहरूलाई पानी ओसार्नमै दिन बित्ने गरेको छ । चाडपर्व तथा घरमा कुनै कार्यक्रम भएको वेला घरका बालबालिकासमेत पानी ओसार्नमै व्यस्त हुन्छन् । जसका कारण उनीहरू स्कुल जान पनि पाउँदैनन् ।
तिम्सिनेमा मात्र होइन, वरपरका भावना चोक, पहलेधाप, डाडाँगाउँ लगायतका क्षेत्रमा पनि खानेपानी समस्या उस्तै छ । स्थानीय जनप्रतिनिधिले भने गाउँमा पानी ल्याउने पहल स्थानीय तहले गरिरहेको जानकारी दएका छन् । मेचीनगर–३ का वडाध्यक्ष हर्क बस्नेतले स्थानीय तहले योजना बनाएर काम गरिरहेकाले पानीको समस्या टार्न अझै केही समय लाग्ने बताए । ‘योजनाअनुसार काम त भइरहेको छ,’ उनले भने, ‘तर गाउँमा पानी आउन अझै केही समय लाग्छ ।’ मेचीनगरका यी गाउँसँगै बुद्धशान्ति, कमल गाउँपालिका तथा अर्जुनधारा र कन्काई नगरपालिकाका उत्तरी गाउँहरूमा खानेपानीको चरम अभाव छ । Souce: http://janatatimes.com/archives/29573