यज्ञराज उपाध्याय / कैलाली, ०६ चैत । करिब अढाई बर्ष अघि कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनाको वास्तविक अपराधी को हो? टीकापुर बासीले फेरि पनि एकैसाथ प्रश्न गर्न थालेका छन । यो बिषयलाई लिएर टीकापुर मात्र हैन अहिल सिंगो मुलुक नै जागरुक भएको छ ।
२०७२ भाद्र ७ गते कैलालीको टीकापुरमा भएको थरुहट राज्यका लागि शान्तिपुर्ण आन्दोलन नाम गरिएको हजारौं थारुहरुको जुलुसको भिडमा एसएसपी सहित अन्य ७ जना सुरक्षाकर्मी र एक शिशुको ज्यान गएकाले यहाँका स्थानीयहरु निकै त्रसित बनेका थिए ।
घटनाका योजनाकारका रुपमा आरोपित उक्त घटनाकै दिन देखि प्रवासी भएका रेशम चौधरीलाई सरकारले बिना कारवाही रिहाई गर्ने समाचार सार्वजनिक भए सङ्गै अझै एकपटक टीकापुर त्रसित बनेको छ ।
घटनामा ज्यान गुमाएका प्रहरीका परिवारका सदस्य भन्छन, "सरकारले अझैसम्म किन वास्तविक अपराधी पत्ता लगाउन सकेको छैन? राजनीतिक कारण देखाएर हत्यारालाई सरकारले किन आश्रय दिएको ? चौधरीले जेलमा आत्मसमर्पण गरेर दुई थोपा आँसु झारेर दुख मानेको सरकारले हामी वास्तविक पिडकका आँसु किन नदेखेको ?"
घटनामा डेढ बर्षिय शिशु गुमाएका परिवार भन्छन,"सरकारले न्याय दिनेछ भन्ने आशा थियो तर सरकारले नै अन्याय गर्न थाल्यो, अब कसको भर पर्नु ?"
टीकापुरमा मात्र होइन यो प्रदेश नम्बर ७ मै निकै चर्चाको बिषय बनी सकेको छ । राजनीतिक कारण देखाउदै सरकारले चौधरीलाई माफी दिदै शपथ खुवाउने भए पछि कैलाली नै जाग्न थालेको छ । केही महिलाहरु भन्छन, "यदि रेशम चौधरीलाई शपथ खुवाएर उनको अपराधलाई माफ गरे हामी चुपचाप बस्ने छैनौ ।"
२०७२ भाद्रको घटना पश्चात प्रवासी भएका चौधरीले गत मंसिर २१ गते सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा प्रवासबाटै प्रतिनिधिसभाको निर्वाचनको लागि बारेसमार्फत उम्मेदवारी दिएर कैलाली क्षेत्र नम्बर १ बाट चुनाव समेत जितेका चौधरीले चुनाव जितेर पनि आधिकारिक प्रमाणपत्र नपाएपछी पुनः प्रवास मै बस्नु परेको थियो र केही दिन पश्चात चौधरीले फागुन १४ गते कैलाली जिल्ला अदालतमा आत्मसमर्पण समेत गरे ।
अदालतले उनलाई कारागारमा राख्न भन्यो र चौधरीलाई कारागार मै राखिएको थियो । त्यही क्रममा चौधरी लगायत कारागारमा थुनामा भएका २४ जना अरु सबै तीन बुदे माग सहित फागुन २० गते देखि आमरण अनशन समेत बसेका थिए । आमरण अनशन बसेकै क्रममा फागुन २५ गते देखि चौधरीको स्वास्थ्यमा समस्या आउन थाले पछि उनलाई सेती अञ्चल अस्पतालमा भर्ना गरियो तर त्यहाँ उपचार सम्भव नभएपछि अस्पतालले चौधरिलाई २६ गते नै काठमाडौं रिफर गरेको थियो ।
चौधरीलाई काठमाडौंको वीर अस्पतालमा भर्ना गरियो र उपचार कार्य अघि बढाईएको थियो । चिकित्सकले दिएको औषधिनै खान नमाने पछि चौधरीको स्वास्थ्यमा दिन प्रतिदिन समस्या आउन थाले पछि गृहमन्त्री राम बहादुर थापाले अदालती प्रक्रिया बाहेक सबै मागहरु पूरा गर्ने प्रतिबद्धता जनाउदै चौधरीको अनशन ताेडेका थिए ।
अहिले रेशम चौधरीको अवस्था सामान्य बन्दै गएको छ र चौधरीलाई अस्पतालमै शपथ खुवाउने ब्यवस्था समेत भैरहेको छ ।