धरान । नेपालीको पहिचान मानिएको खुकुरी विश्वमा लोकप्रिय छ । खुकुरी भनेको नेपालीको पहिचान र परिचय हो । गोरखालीको वीरको चीनाेको र नेपाली शान वनेको खुकुरी विश्वमा चर्चित र लोकप्रिय छ । तर यस्ता खुकुरी उत्पादन गर्ने उद्योगहरु भने पछिल्लो समय धारासायी वन्दै गईरहेका छन् । खुकुरी उत्पादनका लागि कच्चा पदार्थको अभाव त एकातिर थियो नै यो संगै गत बर्ष अर्थात वैसाख १२ गते गएको भुकम्प, र भारतिय नाकावन्दीको कारण खस्केको व्यापार अहिलेसम्म तंग्रिन नसक्दा उद्योगहरु संकटमा पर्न थालेका हुन् ।
पछिल्लो समयमा खुकुरी उद्योगहरु व्यवसायिक कठिनाइका कारण पलायन हुने अवस्थामा पुगेका छन् । केही समय अगाडि धरानमा ३० वटा खुकुरी उद्योगहरु सञ्चालनमा रहेका थिए । तर कच्चा पदार्थको अभाव, उत्पादन गरेको खुकुरीले बजार नपाउदा अहिले मुस्किलले १० वटा उद्योग धरानमा सञ्चालनमा रहेका छन् । ९५ प्रतिशत उत्पादन विदेश निर्यात हुने त्यसमा पनि बढी चीन निर्यात हुने खुकुरी अहिले गत बर्षको भुकम्प र नाकाबन्दीले तहसनहस बनाएको खुकुरीका बजार अहिलेसम्म तौरिन नसक्दा भएका उद्योगहरु समेत पलायन हुने अवस्थामा पुगेका हुन् । धरान खुकुरी उद्योगका सञ्चालक गोविन्द विश्वकर्माले खुकुरी उत्पादनका कमी आउनुको मुख्य कारण कुखुरी बनाउदा प्रयोग गरिने फलाम, कोइला अभाव हुनुका साथै कामदार समेत पाउन छाडेपछि उद्योग धरापमा पर्दै आएका बताउनुभयो ।
उहाले विगतमा दैनिक १५ सयदेखि २ हजारसम्म खुकुरी उत्पादन गर्ने भएपनि अहिले २ सय ३ सय सम्म मात्र उत्पादन गर्ने गरेको बताउनुभयो । खुकुरी उद्याोग बन्द हुदै गएका कारण यहा भएका कालीगढ समेत विदेश पलायन हुन थोपछि कामदारको अभावले समेत खुकुरी उत्पादन संकटमा परेको उहाको भनाई छ । यस्तै न्यू गोर्खाली खुकुरी उद्योगका सञ्चालक दिपक दर्नालको समेत भनाई उसतै
छ । उहाले ९५ प्रतिशत खुकुरीको निर्यात चीन हुने गरेपनि गत बर्ष गएको भुकम्पका कारण चीन र नेपालको ढुवानी गर्ने बाटो अझै मर्मत हुन नसकेका कारण निर्यात हुन नसकेको बताउनुभयो ।
२०६० सालमा स्थापना भएको यो उद्योगमा विगतमा ६० देखि ७० यस उद्योगमा कामदार रहेकोमा अहिले ३५ जना रहेको बताउनुभयो । नेपाल खुकुरी उद्योग संघ धरानका अध्यक्षसमेत रहनु भएका दर्नालले यही अवस्था आइरहे धरानका सम्पूर्ण खुकुरी उद्योग बन्द हुने अवस्थामा पुग्ने बताउनुभयो । सरकारले खुकुरी उद्योगको संरक्षणका लागि कुनै कदम नचालेका कारण यस्तो अवस्था आएको व्यवसायीहरु बताउछन् । धरान खुकुरी उद्योगका सञ्चालक विश्वकर्माले सरकारले नेपालीको गौरवको प्रतिक मानिएको खुकुर उद्योग सञ्चालनमा नया नीति ल्याउनुपर्नेमा जोड दिनुभयो ।
विगतमा धरानबाट मात्र मासिक १ करोड बराबरको सिरुपाते, ड्राईगन, अफगाने खुकुरी देखि चार ईन्चे खुकुरी विदेश निर्यात हुने गर्दथे । अहिले मासिक १० देखि २० हजार खुकुरी विदेश निर्यात हुने गरेको खुकुरी उद्योगका सञ्चालकहरु बताउछन् । विश्वमा नेपालको चिनारी खुकुरी भएपर्नि नेपाल सरकारको सहयोग शून्य रहेको छ । उद्योगको रुपमा स्थापित गर्न धरानका यस्ता उद्योगीहरुले बल्लतल्ल दुइ दशक देखि प्रयास गरिरहेका छन् ।
हस्तकलाको नमूनाको रुपमा खुकुरीलाई सरकारले र विश्वका अन्य उपभोक्ताले माने पनि निर्यातमा हुने समस्या, कालीगढ तथा कच्चा पदार्थको अभापका कारण पलायन हुने अवस्थामा पुगेको हो । नेपालको गौरव बोकेको यस्ता उद्योगहरु बन्द हुनबाट नेपाल सरकारले बेलैमा सोच्न आवश्यक छ । हैन भने एक समय विश्वमै प्रख्यात पाएको नेपालको खुकुरी एकादेशको कथा भनेर भावी पुस्ताले कितावमा मात्र पढ्ने अवस्था नआउला भन्न सकिन्छ । यसका लागि नेपाल सरकार गम्भीर भएर लाग्न जरुरी छ ।