मृगौला पीडितको याचना : ‘बाँच्न पाए सबैको गुण तिर्थें’

अनलाइन दर्पण 2018-02-23
img

मेलम्ची नगरपालिका ६ तालामाराङकी २५ बर्षीया कान्छीमाया थिङको दुवै मृगौलाले काम नगर्ने भएपछि उनले जीवन रक्षाको माग गरेकी छन् ।

आर्थिक अभावका कारण कान्छीमायाको उपचार गर्न नपाएपछि उनको परिवारले सहयोगको अपिल गरेको छ । 

भूकम्पले घर भत्केपछि टहरोमा बसोबास गर्दै आएको यो परिवार चटपटे बनाउने पेशामा निर्भर छ । जीवनरक्षाका लागि कान्छीमाया अहिले सहयोगी खोजी गर्दै हिडेकी छन् । उनले दुखेसो पोखिन्, ‘खाना नरुच्ने, वाकवाकी लाग्ने भएपछि अस्पताल गएको थिएँ । डाक्टरले दुइटा मृगौला फेल छ भनेपछि म छाँगाबाट खसेजस्तै भएको छु ।’

उनको मृगौलाले काम नगर्ने अवस्थामा पुगेको धुलिखेल अस्पताल, जिल्ला स्वास्थ्य कार्यालय सिन्धुपाल्चोक र केएमसी अस्पतालले बताइसकेको छ । प्रत्येक हप्ता डायलोसिस गर्नुपर्ने र एकपटक अस्पताल जाँदा कम्तीमा पाँच हजार रुपैयाँ खर्च हुने कान्छीमाया बताउँछिन् ।

सरकारले डायलोसिस निःशुल्क गरे पनि सरकारी अस्पतालमा पालोमा बस्नुपर्ने भएकोले उपचारमा समस्या भएको उनी बताउँछिन् । 

उनले भक्कानिँदै भनिन्, ‘समयमा नै डायलोसिस भएन भने जहिले पनि ढल्न सकिने रहेछ, उपचार गरुँ भने महँगो छ, आफूसँग पैसा छैन । नगरौं ज्यानको माया लाग्छ । परिवार छन् ।’ उनले गएको एक महिनादेखि सहयोगको अपिल गर्दै आएकी छन् ।

उनले भनिन्, ‘अहिलेसम्म दुई लाख रुपैयाँ खर्च भइसक्यो । मृगौला प्रत्यारोपण गर्न सातदेखि नौ लाख रुपैंयाँ लाग्ने रहेछ ।’ कान्छीमायाका श्रीमान् आइतमान लामाका अनुसार आर्थिक अवस्था नाजुक रहँदा बिरामीको उपचार गर्न सकिएन । उनले भने, ‘भूकम्पले घर ढाल्यो, टहरोको बास छ । खेतीले खान पुग्दैन, जीविका चलाउन धौ–धौ परेका बेला श्रीमतीलाई शरीरमा समस्या देखियो ।’ 

कान्छीमायाका पाँचजना सन्तान छन् । जग्गा बन्धकी राखेर लिएको रकमले श्रीमतीको उपचार गरेको भन्दै आइतमानले थप उपचारका लागि पैसा नहुँदा समस्या भएको बताएका छन् ।

उनले भने, ‘गरिबलाई समस्यै समस्याले थिच्दोरहेछ । जग्गा बन्धकी राखे पनि पुगेन । सक्नुहुन्छ भने सहयोग गरेर मेरो श्रीमतीलाई बचाइदिनुहोस् ।’-जनतापोस्ट 

सम्बन्धित समाचार

Advertisement