चारभन्दा बढी बच्चा जन्माउने जनजातिका दम्पतीले प्रोत्साहन रकम पाउने

अनलाइन दर्पण 2018-01-14
img

चार वा सोभन्दा बढी बच्चा जन्माउने जनजाति दम्पतीले प्रोत्साहन रकम पाउने भएका छन् । 

याे खबर नेपालकाे नभएर भारतको उत्तर-पूर्वी राज्य मिजोरमकाे हाे । त्यहाँकाे एउटा गिर्जाघरले चार वा सोभन्दा बढी बच्चा जन्माउने मिजो जनजातिका दम्पतीलाई प्रोत्साहन रकम दिने घोषणा गरेको छ।  निरन्तर रुपमा जन्मदर घट्न थालेपछि गिर्जाघरले पछिल्लो पटक यस्ताे कदम चालेको हो।

यद्यपि गिर्जाघरकाे उक्त घोषणाबारे सञ्चारमाध्यममा चर्चा भएपछि गिर्जाघरले त्यसबारे भने समीक्षा गर्ने जनाएको छ। मिजो जनजातिमा घट्दो जन्मदरलाई लिएर त्यहाँका मिजो संगठन र गिर्जाघर निकै चिन्तित बनेका छन्।

मिजोरम राज्यका दुई ठूला गिर्जाघर प्रेस्बिटेरियन र द बापटिस्ट चर्च अफ मिजोरमले बढी सन्तान जन्माउन निरन्तर आह्वान गर्दै आएका छन्।

हालै लुंगलेई शहरस्थित बापटिस्ट गिर्जाघरको शाखाले सो क्षेत्रका खासगरी मिजो दम्पतीले चार वा सोभन्दा बढी बच्चा जन्माए प्रोत्साहन स्वरूप रकम दिने घोषणा गरेको थियो।

गिर्जाघरले चौथो बच्चाका लागि चार हजार भारतीय रूपैयाँ, पाँचौँका लागि पाँच हजार र सोही क्रम अनुसार पछिका बच्चाका लागि प्रोत्साहन रकम दिने जनाएको छ।

गिर्जाघरको त्यस्तो घोषणाबारे मिश्रित प्रतिक्रिया आइरहेको बताइएको छ। कतिपयले त्यसको सराहना गरिरहेका छन् भने कतिपयले गैरजिम्मेवार कदम भनेका छन्।

सन् २०११ को जनगणना अनुसार मिजोरमको जनघनत्व प्रति वर्गकिलोमिटर ५२ जना रहेको छ जुन अरूणाचल प्रदेशपछि सबैभन्दा कम हो।- एजेन्सी

 

सम्बन्धित समाचार