आज मन्त्रीपरिषद थप बिस्तार हुँदै माओवादीबाट हुने मन्त्रीहरूको टुंगो लाग्यो काङ्ग्रेसमा विवाद कायमै

अनलाइन दर्पण 2017-07-24
img

प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार (आज) दोस्रोपटक कांग्रेसका समेत सहभागी गराएर मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । 

नेपाली कांग्रेसभित्र मन्त्रीका आकांक्षी बढी भएको र भौतिक योजना तथा यातायात मन्त्रालय देउवा पक्षले लिने कि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षलाई दिने भन्ने विवाद मिल्न सकेको छैन ।

मन्त्रालय भागबन्डा

कांग्रेसभित्र मन्त्रालय बाँडफाँडमा सहमति जुट्न नसके पनि माओवादी केन्द्र र फोरमलाई समेटेर भए पनि सरकार विस्तार गर्ने तयारी रहेको प्रधानमन्त्री स्रोतले बतायो । प्रधानमन्त्रीलाइ भेटेर पटकपटक मन्त्रिपरिषद् विस्तारका लागि दबाब दिँदै आएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सार्वजनिक रूपमै आफूलाई समेत लाज लाग्न थालेको बताएका थिए ।

सरकारको नेतृत्व गरिरहेको कांग्रेस र मुख्य सत्तारुढ दल माओवादी केन्द्रबीच एक साताअगाडि नै मन्त्रालय भागबन्डामा सहमति जुटे पनि कांग्रेसले मन्त्रीको टुंगो लगाउन नसकेका कारण मन्त्रिपरिषद् विस्तार हुन नसकेको हो ।

दलको सहमति

दुई दलको सहमतिअनुसार कांग्रेसले १३ र माओवादी केन्द्रले नौ, लोकतान्त्रिक फोरमलाई तीन, राप्रपा सरकारमा आए उपप्रधानसहित चार र बाँकी मन्त्रालय साना दललाई दिने सहमति जुटेको थियो । फोरम लोकतान्त्रिकले अघिल्लो पटक पाएको मन्त्रालय नै पाउनुपर्ने माग राख्दै आएको छ । तर, सत्तारूढ दलले पर्यटन मन्त्रालयमा भने दाबी नगर्न आग्रह गर्दै आएको छ ।

गत २३ जेठमा कांग्रेस सभापति देउवा प्रधानमन्त्रीमा नियुक्त भएका थिए । त्यसपछि उनले कांग्रेसका तीन, माओवादी केन्द्रका तीन र फोरम लोकतान्त्रिकबाट एक जना सहभागी गराएर सरकार विस्तार गरेका थिए ।

मन्त्री बन्ने को-को ?

त्यसयता प्रधानमन्त्रीले सरकार विस्तारको तयारी अगाडि बढाए पनि आफ्नै दलभित्रको विवादका कारण सफल हुन सकेका छैनन् । माओवादी केन्द्रले भने सरकारमा पठाउने आफ्ना मन्त्रीको नाम लगभग टुंगो लगाएको बताएको छ । माओवादीबाट गिरिराजमणि पोखरेल, महेन्द्रबहादुर शाही, श्यामकुमार श्रेष्ठ, आशा खनाल, शिवकुमार मण्डल र टेकबहादुर बस्नेत मन्त्री बन्ने माओवादी स्रोत बताउँछ। आजको पत्रपत्रिकामा खबर  छ ।

सम्बन्धित समाचार

Advertisement