काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दोलखाली कम्युनिष्ट आन्दोलनमा स्व. पशुपति चौलागाइँको महत्वपूर्ण योगदान रहेको बताउनु भयो ।
दोलखा काठमाडौँ सम्पर्क मञ्चले बिहीबार नेकपा एकीकृत समाजवादीको केन्द्रिय कार्यालय काठमाडौँमा आयोजना गरेको स्व. पशुपति चौलागाइँको दोस्रो स्मृति दिवसको अवसरमा बोल्दै अध्यक्ष नेपालले दोलखाली कम्युनिष्ट पार्टी मात्र नभएर सिंगो दोलखामा स्व. चौलागाइँको भूमिका र योगदान उच्च रहेको बताउनु भयो । उहाँले स्वर्गीय चौलागाइँको स्मरण गर्दै पार्टी जनसंगठन सँगै उद्यमशीलताको विकास गरेर कार्यकर्ताहरू व्यवसायीक र स्वरोजगार बन्नुपर्छ भन्ने सोच उहाँमा भएको समेत स्मरण गर्नुभयो ।
कार्यक्रममा नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य शिव भण्डारी ,दिलु पन्त पार्टीका केन्द्रीय सदस्य चुनु केसी लगायतका नेताहरूको उपस्थिति रहेको थियो । दोलखा काठमाण्डौ सम्पर्क मञ्चका अध्यक्ष हरिहर कार्कीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
दुई वर्ष अघि कोरोनाको उपचारको क्रममा निधन हुनु भएका चौलागाईँ तत्कालीन अवस्थामा पार्टीको पोलिटब्युरो सदस्य हुनुहुन्थ्यो भने २ कार्यकाल दोलखाको सभासद् भएर कम्युनिष्ट आन्दोलनमा योगदान पुर्याउनु भएको थियो ।