नेपालमा कोरोनाबाट तेस्रो व्यक्तिको मृत्यु

अनलाइन दर्पण 2020-05-21
img

कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट गुल्मीका ४१ वर्षीय पुरुषको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ। 

उपचारको क्रममा अस्पतालमा बिहीवार बिहान मृत्यु भएको प्रदेश-५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले संक्रमित पुरुषको मृत्यु भएको पुष्टि गरेका छन् । संक्रमितको पारिवारिक स्रोतले समेत उनको मृत्यु भएको पुष्टि गरेका छन् । 

जेठ १ गते बुटवलमा उपचारका लागि आएका उनी क्रिमसन अस्पतालको आइसीयुमा भर्ना भएका थिए । अस्पतालमा भर्ना भएका उनलाई कोरोना संक्रमण भएको सोमबार पुष्टि भएको थियो । 

अस्पतालमा भर्ना हुनुभन्दा एक हप्ता पहिल्यैदेखि उनमा ज्वरो देखिएको थियो ।

गाउँकै पोलिक्लिनिकमा जाँच गराएका थिए । त्यहाँ उनलाई म्यालपोखरी स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीले टाइफाइडको औषधि दिएका थिए । औषधि खाएपछि उनलाई दुई दिन जति सञ्चो पनि भएको थियो ।

तर १ गते वान्ता भएपछि फेरि क्लिनिकमा पुगे । म्यालपोखरी स्वास्थ्य चौकी मदानेका स्वास्थ्यकर्मी समेत रहेका भुसालले जण्डिस भएको बताए । लगतै स्थानीयले मोटरसाइकलमा राखेर अर्घाखाँचीको सन्धिखर्कस्थित छायाँ पोलिक्लिनिकमा पुर्‍याए ।

त्यहाँका स्वास्थ्यकर्मीले विरामीको अवस्था जटिल रहेको भन्दै मणिग्रामको क्रिमसन अस्पताल रिफर गरे । र, बुटवलबाट गएको एम्बुलेन्समा राखेर अस्पताल ल्याइएको थियो ।

श्वासप्रश्वासमा समस्या देखिएपछि बुटवलमा उपचारका लागि आएका उनमा संक्रमण देखिएको थियो । उनको भैरहवाको प्रयोगशालामा परीक्षणका क्रममा रिपोर्ट पोजिटिभ देखिएको हो।  फोक्सोमा समस्या भएपछि उनलाई कृतिम श्वावप्रश्वास दिएर राखिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको छ । यद्यपि स्वास्थ्य मन्त्रालयले औपचारिक घोषणा गर्न बाँकी छ ।

यस अगाडि बाँके र सिन्धुपाल्चोकमा एक/एक जनाको कोरोनाको कारण मृत्यु भएको थियो ।

 

 

सम्बन्धित समाचार

Advertisement