पुर्व प्रधानमन्त्री झलनाथ खनालका नजरमा ११ नेता कस्ता छन् ?( पढ्नुस विस्तृतमा )

अनलाइन दर्पण 2018-01-03
img

पूर्वप्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता झलनाथ खनाल समकालीन शीर्ष नेतामध्ये गहिरो राजनीतिक विश्लेषण क्षमता भएका थोरैमा पर्छन्। सैद्धान्तिक रूपमा खारिएका र गीतसंगीतमा पनि रुचि राख्ने खनाल राजनीतिक संवादमा सक्रिय छन्।

चार दशक लामो नेपाली कम्युनिस्ट आन्दोलनमा सक्रिय खनालले समकालीन ११ नेताबारे आफ्नो टिप्पणी नयाँ पत्रिकाका कृष्ण कट्टेललाई यसरी बताएका छन्ः

प्रचण्डः राष्ट्रियतामा कमजोर

पुष्पकमल दाहाल प्रचण्ड नेपाली राजनीतिको महत्वपूर्ण व्यक्तित्व हुनुुहुन्छ। उहाँले १० वर्ष यो देशमा सशस्त्र संघर्ष चलाउनुभयो । त्यो नेपालको इतिहासमा अभूतपूर्व नै हो। युद्ध, हिंसा व्यापक हुनु, ठूलो संख्यामा जनता मारिनु र ठूलो रक्तपात हुनुबाहेक त्यसबाट केही हुँदैन भन्ने कुरा बुझ्न उहाँलाई १० वर्ष लाग्यो। उहाँले आखिरमा कुरा बुझ्नुभयो।

युद्धकालमा भारतको नयाँ दिल्लीमा उहाँसँग मेरो लामो वार्ता भएको थियो। हामीले पनि एक समय (२०२८ सालमा)युद्ध गरेका थियौँ। देशको समग्र परिस्थिति अध्ययन गरेपछि नेपालमा जनवादी क्रान्ति दीर्घकालीन जनयुद्धबाट होइन, जनविद्रोहबाट मात्रै सम्भव छ भन्ने कुराको निष्कर्षमा हामी पुगेका थियौँ। मैले उहाँसँग यसबारे लामो कुरा गरेपछि उहाँ पनि हत्याहिंसाले मात्र क्रान्ति सफल हुँदैन भन्ने निष्कर्षमा पुग्नुभयो।

शान्तिपूर्ण ढंगले लोकतान्त्रिक धारमा आउने उहाँको अहिलेको प्रवृत्ति सकारात्मक हो। तर, अहिले राष्ट्रियताको सवालमा उहाँभित्र गम्भीर समस्या मैले देखिरहेको छु।

ओलीः पहिला कमजोर, अहिले सफल

केपी शर्मा ओली नेपालको कम्युनिस्ट आन्दोलनमा लामो समयदेखि निरन्तर संघर्षमा लागेर आइरहेको एउटा योद्धा हुनुहुन्छ। उहाँले झापा संघर्षमा महत्वपूर्ण योगदान गर्नुभयो। त्यसपछि उहाँ लामो समयावधिसम्म जेल बस्नुभयो। जेलबाट बाहिर आएपछि नेकपा एमालेको केन्द्रीय कमिटीको सदस्यका रूपमा उहाँले योगदान गर्दै आउनुभयो। पछिल्लो अवधिमा उहाँलाई अध्यक्ष बन्ने महत्वकांक्षा प्रबल भएपछि उहाँले समूह बनाउन थाल्नुभयो । पार्टीमा समूह बनाउने, गुट बनाउने, अलग ढंगले उहाँले काम गर्नुभयो । उहाँले यो राम्रो गर्नुभएन । यी उहाँका कमजोरी नै हुन् । अन्ततः नवौँ महाधिवेशनमा उहाँ अध्यक्षमा निर्वाचित हुनुभयो । त्यसपछि उहाँले राजनीतिक रूपले पार्टीलाई अगुवाइ गर्ने काम गर्नुभएको छ । सफलतापूर्वक नै गरिरहनुभएको छ । हाम्रो पार्टीको नेतृत्वमा सरकार बन्दा उहाँले राम्रो भूमिका निर्वाह गर्नुभयो । भारत र चीनसँगको सम्बन्ध निर्वाह गर्ने कुरामा पनि उहाँले राम्रो भूमिका निर्वाह गर्नुभएको छ।

देउवाः बुझ्नै गाह्रो

शेरबहादुर देउवाका के–के गुण छन् र वैगुन छन् भन्ने कुरा बुझ्न नै गाह्रो छ । यति छिटोछिटो बोल्नुहुन्छ कि, उहाँको बोली नै बुझिँदैन । व्यक्तिगत रूपमा शेरबहादुरजीसँग मेरो राम्रो सम्बन्ध छ । उहाँलाई म सम्मान पनि गर्छु । अहिले नेपाली कांग्रेसको सभापति हुनुहुन्छ । उहाँको कार्यकाल सफल ढंगले बितोस्, मेरो शुभकामना छ । तर, नेपाली कांग्रेसलाई राष्ट्रियताको पक्षमा दह्रो बनाउनुस्, देशभक्त पार्टीको रूपमा विकास गर्न सक्नुस्, समाजवादी पार्टीको रूपमा विकास गर्न सक्नुस्, त्यसका निम्ति मेरो शुभकामना छ । नेपाली कांग्रेसलाई आत्मसमर्पणवादी, लम्पसार पर्ने लाइनमा होइन । देशको स्वतन्त्रता, सार्वभौमसत्ता र अखण्डताको पक्षमा दृढ भएर उभिने पार्टीका रूपमा विकास गर्न सक्नुस् ।

नेपालः सैद्धान्तिक गहिराइको कमी

विभाजित अवस्थाको नेपाल नेपालको कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्ने समयदेखि माधवकुमार नेपाल निरन्तर क्रियाशील हुनुहुन्छ । हामीले अर्डिनेसन केन्द्र निर्माण गर्ने थालनी गरेदेखि उहाँ निरन्तर सक्रिय हुनुहुन्छ । एउटा खास कालखण्डमा पार्टी महासचिव भएर उहाँले नेतृत्व गरेर आउनुभएको छ । उहाँको राजनीतिक जीवन पनि म सफल जीवन देख्छु । उहाँले कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउने कुरामा महत्वपूर्ण योगदान गर्नुभएको छ । समग्रमा उहाँको वैचारिक, राजनीतिक पक्षहरू ठिकै छन् । एउटा अवधिभरि पार्टीलाई हाँकेर आउनुभएको छ । तर, सैद्धान्तिक पक्षमा उहाँको त्यति गहिराइ देखिँदैन । त्यो पक्षलाई उहाँले अझै गहिरो बनाउन सके उहाँको योगदान अझ राम्रो हुन्छ भन्ने मलाई लाग्छ ।

डा. भट्टराईः अस्थिर तर महत्वाकांक्षी

डा. बाबुराम भट्टराई अस्थिर नेता हुनुहुन्छ । उहाँमा बौद्धिकता छ । तर, त्यो बौद्धिकता र विद्धतालाई उहाँले सही रूपमा प्रयोग गर्न सक्नुभएन । कम्युनिस्ट आन्दोलनमा निकै लामो समय लाग्नुभयो, तर अहिले बाहिरिएको देख्छु म । अहिले उहाँले निर्माण गरेको नयाँ शक्ति भनेको उहाँको दिमागमा भएको ठूलो अलमलको परिणाम हो । उहाँको राजनीतिक जीवन खतरामा परेको देख्छु । अगाडि बढ्ने महत्वाकांक्षा उहाँको ठूलो छ । तर, उहाँले आफ्नै खुट्टा भासतिर फसाएजस्तो देख्छु । नयाँ शक्तिको औचित्य केही पनि छैन । नयाँ शक्ति नै होइन त्यो । पुराना पार्टीहरूबाट विभिन्न ढंगले असफल भएर निस्किएका मान्छे भगौडाका रूपमा अहिले नयाँ शक्तिमा छन् । त्यस्ता मान्छेबाट कुनै नयाँ शक्तिको जन्म हुन्छ भन्ने मलाई लाग्दैन ।

पौडेलः महत्वाकांक्षी तर कमजोर आधार

रामचन्द्र पौडेल नेपाली कांग्रेसमा लामो समयदेखि काम गर्दै आएका एउटा योद्धा हुनुहुन्छ । लोकतन्त्रप्रति उहाँको निष्ठा म अटुट नै देख्छु । तर, उहाँ अलि महत्वकांक्षी हुनुहुन्छ । महत्वाकांक्षा पूर्ति गर्नका लागि आवश्यक आधार भने तयार गर्न सक्नुहुन्न । उहाँ १७ पटक प्रधानमन्त्रीका लागि निर्वाचनमा भिड्नुभयो तर असफल हुनुभयो । अहिले पनि प्रधानमन्त्री बन्ने इच्छा उहाँमा प्रबल छ । तर, परिस्थितिले उहाँलाई त्यो पदबाट सम्मानित गर्छजस्तो मलाई लाग्दैन । किनभने नेपाली कांग्रेसमा अलि भिन्नै परिस्थिति विकसित भएर आएको छ । अब देउवाजीको कार्यकालभरि उहाँले त्यो चान्स पाउनुहोलाजस्तो देखिँदैन । सम्भावना एकदमै न्यून छ । देउवाजीको कार्यकालपछि पनि उहाँको पालो आउलाजस्तो नै लाग्दैन । अहिले नै उमेरका हिसाबले पनि ७० को लगभगमा पुगिसक्नुभयो । उहाँको उमेरले नै छेक्ने सम्भावना देख्छु । राजनीतिमा असफल भन्न त मिल्दैन । उहाँ सभामुख हुनुभयो, उपप्रधानन्त्री हुनुभयो, पटकपटक मन्त्री हुनुभयो । लोकतन्त्र ल्याउने क्रममा यत्रो कालखण्डमा आएका परिवर्तनहरूमा उहाँ खटेरै आउनुभयो । अहिले पनि उहाँ खटिइरहनुभएको छ ।

वैद्यः दर्शन र संस्कृतिमा अगाडि

मोहन वैद्य राष्ट्रवादी चिन्तन भएको माक्र्सवादी नेता हुनुहुन्छ । उहाँले राजनीतिमा भन्दा पनि दर्शन संस्कृतिमा अलि बढी दख्खल राखेजस्तो मलाई लाग्छ । दर्शन र संस्कृतिको क्षेत्रमा लेखनकार्य मात्रै पनि अलिक बढी गर्नुभयो भने त्यो नेपालको कम्युनिस्ट आन्दोलन, लोकतान्त्रिक आन्दोलनका लागि योगदान हुन सक्छ । तर, राजनीतिक चिन्तनचाहिँ उग्रवामपन्थी भड्काउले ग्रस्त छ । त्यसो हुनाले उहाँ र उहाँले नेतृत्व गरेको संगठन सफलतातिर जाने सम्भावना म बिल्कुलै देख्दिनँ । त्यो संगठन असफल हुन बाध्य छ ।

ठाकुरः इमानदार तर सधैँ भावुक

महन्थ ठाकुर तराई मधेसबाट विकसित भएका सम्मानित नेता हुनुहुन्छ । तर, उहाँ एकदमै भावनात्मक हुनुहुन्छ । धेरै बोल्नुहुन्न, बोल्दा भावनात्मक कुरा गर्नुहुन्छ । उहाँलाई म सम्मान गर्छु । व्यक्तिगत रूपमा उहाँसँग मेरो राम्रै सम्बन्ध छ । तर, उहाँको दृष्टिकोणमा भयावह किसिमका गलत धारणा जमेका छन् । सिंगो मधेसलाई एक राष्ट्र अनि पहाडलाई अर्को राष्ट्रका रूपमा देख्ने, देशलाई दुई राष्ट्रमा विभाजित गरिएको दृष्टिकोण उहाँले बोक्नुभएको छ । यो उहाँको राजनीतिक जीवनकै निम्ति अत्यन्त अनुत्पादक र घातक विचार हो । त्यसले सिंगो देशलाई पनि घात गर्छ, तराई मधेसलाई पनि घात गर्छ र उहाँ आफँैलाई पनि घात गर्छ । यसबाट मुक्त भएर अहिलेको संविधान मानेर अगाडि बढ्नुभयो भने तराई मधेसको एउटा सम्मानित नेताका रूपमा अझै पनि स्थापित हुने सम्भावना देख्छु ।

थापाः देशलाई माया गर्ने दक्षिणपन्थी

कमल थापा पूर्वपञ्चहरूभित्रको एउटा प्रखर नेता हो । उनमा राष्ट्रवादी भावना छ । त्यो भावनाको प्रशंसा गर्नुपर्छ । तर, उहाँ नेपाली जनतामा भएको हिन्दू धर्मप्रतिको आस्था र राजतन्त्रको हतियार लिएर नेपालमा राजनीति गर्न तम्सिनुभएको छ । यी दुईवटै आधुनिक समाजका प्रबल हतियार होइनन् । राजतन्त्र नेपालको इतिहासमा कालातीत भइसकेको विषय हो । उहाँले राजतन्त्रको हतियारसमेत समाउनुभएको छ । राजतन्त्रलाई पुनस्र्थापित गर्ने विचार राख्नुभएको छ । यसले उहाँलाई सफल हुन दिँदैन । दोस्रो, जनतामा भएको धर्मभिरू भावनालाई जगाएर राजनीति गर्दै हुनुहुन्छ । नेपाललाई हिन्दू राष्ट्र बनाउने उहाँको सपना छ । त्यो सपना पनि पूरा हुने देख्दिनँ मैले । यो दक्षिणपन्थी भड्काउबाहेक अरू केही पनि होइन । तर, देशलाई माया गर्ने नेताचाँहि हो, उहाँ ।

बिजुक्छेः भक्तपुरमा वर्चस्व

नारायणमान बिजुक्छे पनि नेपालको कम्युनिस्ट आन्दोलनको योद्धा हो । उहाँले ठूलो पार्टी बनाउन नसके पनि कमसेकम नेमकिपा निर्माण गरेर भक्तपुरमा काम गर्नुभएको छ । एउटा राजनीतिक आधार बनाएर लाग्नुभएको छ । त्यो विस्तार गरेर देशभरि फैलिन कहिल्यै पनि सक्दैन । त्यो सम्भव म देख्दिनँ । एकाध ठाउँमा अलिअलि कार्यकर्ता बनाउनुहुन्छ, दुईचार वर्ष काम हुन्छन्, फेरि नेकपा एमालेमा आइहाल्छन् । उहाँमा धेरै काम गर्न सक्ने अवस्था देख्दिनँ । तर, पनि भक्तपुरमा रोहितजी हुन्जेल नेमकिपाको राम्रै वर्चस्व हुने देख्छु म ।

सिंहः पुरानै अडान राख्ने आदरणीय पात्र

मोहनविक्रम सिंह नेपाली कम्युनिस्ट आन्दोलनका आदरणीय पात्र हुनुहुन्छ । उहाँले धेरै उमेर खाइसक्नुभएको छ । तर, आफ्नो अडानमा दृढ भएर बसिरहने नेता हुनुहुन्छ । यस मानेमा उहाँलाई सम्मान पनि गर्नुपर्छ । समाज, देश, दुनियाँ बदलिइसक्यो, तर उहाँ पुरानै अडानमा बसिरहनुहुन्छ । उहाँले नेतृत्व गरेको धार विकसित हुन, विस्तृत हुन, फैलिन र सफल हुन कहिल्यै सकेन । उहाँले नेतृत्व गरेको कम्युनिस्ट पार्टी ३० को दशकमा सबैभन्दा ठूलो थियो । तर, त्यसलाई एकताबद्ध बनाएर राखिरहन उहाँले सक्नुभएन । उहाँकै कतिपय अडानसँग भिन्न अडान प्रकट भएपछि त्यो पार्टी विभाजित र विखण्डित हुँदै गयो । अहिले एउटा सानो समूहलाई उहाँले अगुवाइ गरिरहनुभएको छ । अहिलेको बदलिँदो विश्व परिस्थिति र बदलिँदो राष्ट्रिय परिस्थितिअनुरूप उहाँले अहिले पनि आफ्ना धारणा परिस्कृत र परिमार्जित गर्नुभए, नेपालको कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्न योगदान गर्नुभए धेरै राम्रो हुने थियो। -नेपालखबरबाट

सम्बन्धित समाचार