काठमाडौं, ७ पुस । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच शुक्रबार चुनावपछि पहिलो भेटवार्ता भएको छ । तर, चुनावपछि भएको यो पहिलो भेट सौहार्दपूर्ण हुन सकेन ।
झापा र डडेलधुराबाट चुनाव जितेका ओली र देउवाले एकअर्कावीच बधाइसमेत साटासाट गरेका थिएनन् ।
दुबै नेताले चुनाव अघिदेखि नै एकअर्काप्रति आक्रामक आभिव्यक्ति दिँदै आएका थिए । प्रदेश तथा प्रतिनिधिसभा चुनावपछि कांग्रेस सभापति देउवा केही रक्षात्मक बने । तर, एमाले अध्यक्ष ओली भने देउवाप्रति झन आक्रामक बने ।
यस्तै परिवेशमा शुक्रबार देउवा र ओलीको भेटघाट भयो । यो भेट पाँच दलको बैठकले जुरेको हो । राष्ट्रियसभा निर्वाचनसम्वन्धी अध्यादेशमा सहमति जुटाउन देउवाले पाँच दलका शीर्ष नेताहरुको बैठक बोलाएका थिए । एमाले अध्यक्ष ओली केही ढिलो गरी बालुवाटार पुगे ।
ओलीका लागि देउवाकै छेउमा कुर्सी थियो । त्यहाँ बस्नुअघि देउवासँग उनले हात मिलाए । सहभागी एक नेताका अनुसार दुई नेताबीच बैठकका क्रममा सौहार्दपूर्ण कुराकानी हुन सकेन । बैठकमा ओली र देउवाको सम्वाद न सौहादपूर्ण रहृयो, न तनावपूर्ण नै रहृयो ।’
एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री देउवामाथि जनमत वाम गठबन्धनको पक्षमा आउँदा पनि सत्ता छाड्न नचाहेको आरोप लगाए ।
‘ओलीजीले वाम गठबन्धनले जित्यो भने सरकार छाड्नुपर्दैन, ५ वर्ष चलाइराख्छौं भन्ने पनि थपौं भन्नुभयो’ ।