काठमाडौँ l नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवाविरुद्ध संस्थापन इतर समूहले दर्ता गर्न खोजेको विरोधपत्र आइतबार स्थगित भएको छ आउँदो १४औँ महाधिवेशनलाई प्रभावित पार्ने गरी देउवाले पछिल्ला सयम गरेका नियुक्ति, महाधिवेशनका तयारी, क्रियाशील सदस्यता लगायतका विषयप्रति असहमति जनाउँदै इतर समूहले दर्ता गर्न लागेको विरोधपत्र अन्तिम समयमा आएर रोकिएको छ।
वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका एक केन्द्रीय सदस्यका अनुसार सभापति देउवाविरुद्ध विरोधपत्र पार्टी कार्यालयमा बुझाउने विषय आइतबार पौडेल र नेता कृष्ण सिटौलाबीच छलफल भएको थियो। उक्त छलफलपछि पौडेलले आइतबार विरोधपत्र दर्ता नगर्न आफूनिकट नेताहरुलाई निर्देशन दिएका थिए।
सभापति देउवाविरुद्ध विरोधपत्र पार्टी कार्यालयमा दर्ता गर्ने विषयमा पौडेल र सिटौला पक्षबीच मतभेद हुँदै आएको छ। पौडेल खेमा देउवाविरुद्ध घोषित रुपमै कडा रुपमा प्रस्तुत हुुनुपर्ने बताइरहेका छ भने सिटौला पक्षले लिखित उजुरी दर्ता गराउनुभन्दा १९ गते बस्ने केन्द्रीय समिति बैठकमै कुरा उठाउनुपर्ने बताइरहेको छ।
पौडेल पक्षले सभापति देउवाले आउँदो १४ औँ महाधिवेशनको परिणामलाई प्रभावित पार्ने काम गरिरहेको आरोप लगाएको छ। यसअघि गत साउनमा पनि पौडेल र सिटौला समूहले देउवालाई लिखित भेटेरै ध्यानाकर्षणपत्र बुझाएका थिए।