भक्तपुर नगरपालिकाले गरेको भ्रष्टाचार छानविन गरी कारवाही गर्न सांसद बस्नेतकाे माग

अनलाइन दर्पण 2019-08-30
img

काठमाडौँ, १२ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले भक्तपुर नगरपालिकाले जवरजस्त रुपमा गरेको भ्रष्टाचारको तत्काल छानविन गरी कारवाही अघि बढाउनुपर्ने बताउँदै सर्वोच्च अदालतले भक्तपुर क्यान्सर अस्पतालको बारेमा दिएको स्टे अर्डको शतप्रतिशत कार्यान्वयन गर्दै अदालतलाई अपमानित गर्ने कार्य तत्काल बन्द गर्न माग गर्नुभएको छ ।

प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै सांसद बस्नेले गत साउन ३० गते भक्तपुर नगरपालिकाले भक्तपुर क्यान्सर अस्पतालमा आफै व्यवस्थापन समिति गठन गरी हस्तक्षेप गरेको र त्यसको विरुद्ध सर्वोच्च अदालतमा मुद्धा दायर भएको जसमा भदौ १० गते स्टे अर्डर जारी गरेर नगरपालिकाको उक्त काम अबैध भएको र तत्काललाई निरन्तरता नदिनु भनि निर्देशन दिएको जानकारी गराउँदै तत्काल उक्त कार्यलाई कार्यान्वयन गरी अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

प्रेम सुवालले अदालतको निर्णयलाई समेत नमानि बारम्बार सदनमा उक्त कुरा उठान गर्नु सर्वोच्च अदालतको समेत अपमान भएको भन्दै सांसद बस्नेतले भन्नुभयो, ‘भक्तपुर नगरपालिकाले उक्त अदालतको निर्णयलाई कार्यान्वयन गरोस्, अदालतलाई अपमानित हुने ढंगले कुनै पनि गतिविधि नहोस् ।’

भक्तपुर नगरपालिकाले सल्लाघारीमा रहेको नेपाल ट्रष्टको ९९ रोपनी जग्गामा पर्खाल लगाउने गैर कानुनी काम गरी जवरजस्ती कब्जा गर्ने काम गरेको बताउँदै उहाँले भक्तपुर नगरपालिकाले विकास निर्माणमा हुने हरेक कामहरु सार्वजनिक खरिद ऐन र आर्थिक कार्यविधि ऐनलाई वेवस्था गर्दै उपभोक्ता समिति बनाई गैरकानुनी आधारमा खर्च गर्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘उक्त कार्यले भक्तपुर नगरपालिकाले जबरजस्ती भ्रष्टाचार गर्ने काम गरिरहेको छ । नगरपालिकाले सञ्चालन गरेको कलेजदेखी लिएर विद्यालयसम्म सवै अनियमित ढंगले प्रचलित कानुनलाई अवज्ञा गरी सञ्चालन गरेको छ । संघिय सरकारको सम्बन्धीत संघिय तथा स्थानीय विकास मन्त्रालयले उक्त कार्यलाई छानविन गरी कारवाहीको प्रकृया अघि बढाओस् ।’

विशेष समयमा बोल्दै भक्तपुर क्षेत्र नं. १ का सांसद प्रेम सुवालले नेपाल सरकारका कुनै पनि निकायसँग लेखा परिक्षण नगर्ने भएकाले एनजिओहरु अराजक र छाडा भएको बताउँदै नेपाल अर्वुद्ध रोग निवारण संस्थाले क्यान्सर अस्पतालको लागि भक्तपुर नगरपालिका प्रदान गरेको जग्गा र आर्थिक सहयोगलाई समेत दुरुपयोग गरी भ्रष्टाचार गरेको आरोप लगाउँदै भक्तपुर नगरपालिकाको बचाउन गर्नुभएको थियो ।

सम्बन्धित समाचार

Advertisement