काठमाडौं, ७ चैत । स्थानीय निकायको चुनाव हुने नहुने अन्योल कायमै छ । प्रमुख प्रतिपक्षी एमाले चुनावमा होमिइसकेको छ । तर सरकारको मुख्य घटक नेपाली कांग्रेस चुनावमा भाग लिने कुरामै द्विविधाग्रस्त देखिएको छ । एमालेका महानगरपालिका, उपमहानगर र नगरपालिका तथा गाउँपालिकाका पार्टी कमिटीहरु संभावित उम्मेदवार चयनको लागि भेला र बैठकमा जुटिरहेका छन् ।
यसैक्रममा राजधानी काठमाडौंको मेयरका लागि एमालेबाट कसलाई उम्मेदवार बनाउने भन्ने बहस पार्टी कमिटीमा सुरु हुन थालेको छ । २०५४ को निर्वाचनमा एमालेले मेयर जिताएका केशव स्थापितले पाटीको अनुशासन पटक पटक मिचेर घाट घाट चाहारेपछि यसपटक त्यस्ता प्रवृत्तिलाई प्रश्रय दिनु नहुने आवाज एमालेमा उठेको छ । पार्टीले मेयर बनाएका स्थापितको अस्थिर स्वभावले गर्दा एमालेले यो पटक मेयरको उम्मेदवार बनाउँदा धेरै विचार पुर्याएर जिम्मेवार नेताहरुलाई दिनुपर्ने नेताहरु बताउँछन् ।
एमालेले मेयर पदमा पार्टीको पदाधिकारीबाटै प्रभावशाली नेतालाई उम्मेदवार बनाउनुपर्ने दबाब महानगरका एमाले नेता कार्यकर्ताको छ । एमालेले पदाधिकारीबाटै मेयर पदमा उम्मेदवार बनाउने संभावित अनुहारमा सचिव योगेश भट्टराई हुन् । महानगरपालिकाको मेयर पदमा उनको नाम कार्यकर्ता पंक्तिमा लिन थालिए पनि उनी स्वयंले भने त्यसबारेमा मुख खोलिसकेका छैनन् ।
एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठ काठमाडौं महानगरपालिकाको मेयरका अर्का सशक्त दाबेदार हुन्, आजको साँघुमा समाचार छ । उनको नाम पनि मेयर पदमा कार्यकर्ताले लिने गरेका छन् । मेयर पदमा पार्टी केन्द्रीय सदस्य जीवनराम श्रेष्ठ, विद्यासुन्दर शाक्यसमेत संभावित उम्मेदवार हुन् । जीवनराम र विद्यासुन्दर वडाध्यक्ष भइसकेका हुन् । काठमाडौं महानगरपालिकाको उपमेयरमा पार्टीका केन्द्रीय सदस्य सुजिता शाक्यको नाम पनि लिन थालिएको छ । उपमेयरमा विद्या न्यौपाने, रन्जना मास्केलगायतका महिला नेतृृहरु पनि चर्चामा छन् ।
नेपाली कांग्रेसले काठमाडौंको मेयर र उपमेयरबारे पार्टीमा कुनै किसिमको छलफल अगाडि नबढेको बताएको छ ।