‘सरकारको औचित्य समाप्त भयो, विकल्प खोज्नुपर्छ;भीम रावल

अनलाइन दर्पण 2017-02-20
img

९ फागुन । नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री भीम रावलले वर्तमान सरकारको औचित्य सकिएको टिप्पणी गरेका छन् । जाजरकोटको स्याउलीबजारमा आयोजित जनसभामालाई सम्बोधन गर्दै नेता रावलले भने, ‘यो सरकारका औचित्य समाप्त भयो । यसले मुलुकलाई कुनै निकास दिन सकेन । अब यसको विकल्प खोजेर भए पनि निर्वाचनमा जानुपर्छ ।’

संविधानसभाको दोस्रो निर्वाचनमा क्षेत्र नम्बर १ मा पाँच सयभन्दा कम र क्षेत्र नम्बर २ मा दुई सय मतले पराजित भएको एमालेले जाजरकोटमा पार्टीका कार्यक्रमलाई तीब्र बनाउने क्रममा यसअघिको पुन्मा गाविसमा पर्ने स्याउलीबजारमा आयोजित जनसभालाई सम्बोधन गर्ने क्रममा उपाध्यक्ष रावलले उक्त कुरा बताएका ह्न ।

उपाध्यक्ष रावलको भनाइ थियो, ‘हामीले १८ महिनामा तीनै तहका निर्वाचन गर्ने गरी कार्ययोजना ल्याएका थियौँ । तर, त्यसलाई कार्यान्वयन गर्न दिइएन । अहिलेको सरकारले एउटा निर्वाचन पनि गर्ने छाँट देखाएको छैन । यसबाट मुलुक थप समस्यामा पर्ने देखिएको छ ।’

बाजागाजा, झाँकीसहित कार्यक्रममा हजारौँको उपस्थिति थियो । माओवादी, कांग्रेस र राप्रपा त्यागेर एमाले प्रवेश गर्ने डेढसय जनालाई उपाध्यक्ष रावलले अबिर लगाएर स्वागत गरेका थिए ।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य भैरवसुन्दर श्रेष्ठ, केन्द्रीय सल्लाहकार तथा सांसद दलबहादुर सुनार, केन्द्रीय सल्लाहकार तथा पूर्वसांसद गोविन्दविक्रम शाह, एमाले केन्द्रीय श्रम तथा रोजगार विभागका सचिव निरज आचार्य, जाजरकोट जिल्ला अध्यक्ष करवीर शाही र सांसद रिता रावलले पनि सम्बोधन गरेका थिए ।

भेरीमालिका नगर कमिटीको आयोजनामा आयोजित उक्त कार्यक्रमको अध्यक्षता नगर अध्यक्ष मुकुन्द शर्मा र सञ्चालन विजय चन्दले गरेका थिए ।

 

सम्बन्धित समाचार