मोटोपन र यौनजीवन

अनलाइन दर्पण 2019-10-16
img

भोक, निद्रा, प्यास जस्तै यौन पनि मानवीय आवश्यकता हो । उमेर, परिस्थिति तथा व्यक्तिअनुसार यौनको चाहना पनि फरक–फरक हुन्छ, तर यौन उत्तेजना नै नहुनु तथा यौन सन्तुष्टि प्राप्त गर्न नसक्नुलाई गम्भीर कुरा मानिन्छ । यसका पछाडि शारीरिक वा मानसिक वा दुवै कारण हुन सक्छन् । व्यक्ति विशेषको स्वास्थ्य समस्या, यौनप्रतिको विगतको नकारात्मक अनुभव, मानसिक चिन्ता, शारीरिक थकान, यौनसाथीसँगको खटपट आदिले पनि यौनेच्छामा कमी आउन सक्छ ।

विभिन्न अध्ययनअनुसार अधिक तौल अर्थात् मोटोपनले पनि यौन क्रियाकलापमा नकारात्मक प्रभाव पारिरहेको हुन्छ । अधिक तौल भएका व्यक्तिको शरीरमा बोसो थुप्रिने र यसमा यौनेच्छा कामेच्छा जगाउने रसायानिक तत्व (हार्मोन) टाँसिने हुनाले यौन चाहनामा कमी आउन सक्छ । पुरुषको दाँजोमा महिलामा विवाहपछि तौल बढेको पाइन्छ ।

अधिक मोटोपन भएका व्यक्ति न्यूनतम दैनिक क्रियाकलापबाटै थाकिसक्ने र अधिक निद्रा लाग्ने भएकाले उनीहरू यौनका मामिलामा अल्छी हुन थाल्छन् । महिला र पुरुषबीच यौन आकर्षण बढाउने विभिन्न तत्व मध्ये छरितो जीउडाल पनि एक हो । अधिक मोटोपनले यौनसाथीप्रतिको आकर्षण घटाउन सक्छ । यसै कारणले मोटोपन भएका व्यक्तिको आत्मविश्वासमा कमी आउनुका साथै उनीहरू साथीसंगीहरूमाझ घुलमिल गर्न पनि हिचकिचाउँछन् । यसैगरी मोटोपन भएकी महिलामा महिनावारीसम्बन्धी गडबडी हुनसक्छ, जसले गर्दा उनीहरूमा यौनसम्पर्कप्रति नै नकारात्मक धारणाको विकास हुन्छ । मोटोपनकै कारण उनीहरूले आत्मग्लानि महसुस गरी यौनकार्यमा संलग्न हुन अनिच्छा प्रकट गर्छन् ।

मोटोपन भएका व्यक्तिले प्रेमालाप गर्न तथा सम्बन्ध बढाउन पनि गार्‍हो हुन सक्छ । यौन क्रियाकलापका दौरान अधिक मोटोपनले विभिन्न आसन उपयोग गर्न गार्‍हो हुन्छ । त्यसैले सफल यौनक्रियाका लागि आवश्यक पर्ने विविधतामा कमी आउन सक्छ । मोटा व्यक्तिहरू कुनै काम गर्दा चाँडै थकाइ लाग्ने, सास फुल्ने तथा अत्यधिक पसिना आउने कारणले कालान्तरमा शारीरिक तथा मानसिक दुवै रूपमा यौनक्रियाबाट टाढा रहन चाहन्छन् । मोटा व्यक्तिहरू मधुमेह, उच्च रक्तचाप, उच्च कोलेस्टेरोलजस्ता समस्याबाट ग्रसित हुन्छन् । त्यस्ता स्वास्थ्य समस्यामा प्रयोग गरिने कतिपय औषधिले व्यक्तिको यौन उत्तेजना तथा क्षमतामा नकारात्मक असर पुर्‍याउन सक्छ । यही कारणले पनि यस्ता समस्या भएका मानिसमा यौनप्रति नकारात्मक धारणाको विकास भएको पाइन्छ ।

अधिक मोटोपनले गर्दा आफ्नो यौन जीवनमा समेत असर गर्न थालेको आभास भयो भने आफ्नो जीउडाल छरितो बनाउनुपर्छ । नियमित व्यायाम गर्नुका साथै हरियो सागपात तथा फलफूल बढी खानुपर्छ । चिल्लो एवं गुलियो पदार्थ, नुनिलो तथा जङ्क फुड सकेसम्म कम खाने । हल्का पेयपदार्थ एवं मदिरा पनि कम पिउने । एकै ठाउँमा अर्थात् बसेरै काम गर्ने बानीमा परिवर्तन ल्याउनुपर्छ । सम्भव भएसम्म आफ्नो दैनिकीलाई चलायमान राख्नुपर्छ । उदाहरणका लागि भातको सट्टा रोटी वा च्याँख्ला खाने, नियमित व्यायाम गर्ने, मर्निङ वाक वा जगिङ जाने कार्यमा आफ्नो यौन साथीलाई सघाउनुपर्छ । 

मोटोपन घट्न थालेपछि त्यसका लागि प्रोत्साहन दिनुपर्छ वा उत्साहित गर्नुपर्छ । आफ्नो यौन साथीको अधिक तौलका कारण यौनिक क्रियाकलापमा कमी ल्याउनु हुँदैन । कुनै औषधिको सेवनले यौनेच्छा कमी गराएको वा गराउन सक्ने भए सम्बन्धित चिकित्सकसँग परामर्श गरी वैकल्पिक औषधि सेवन गर्नुपर्छ । मोटोपन भएका व्यक्ति वा दम्पतीबीच पनि यौन क्रियाकलापका दौरान पाकक्रीडा, यौन छेडखानी तथा स्पर्शले पर्याप्त यौन सन्तुष्टि प्राप्त गर्न मद्दत पुग्छ ।

सम्बन्धित समाचार