इलाम । चिसो मौसम शुरु भएसँगै चियाको मुना पलाउन छाडे पनि यतिबेला इलामका किसानको व्यस्तता चियाबारीमा नै देखिन्छ । चैतदेखि निरन्तर हरियो चियापत्ती टिप्दै कारखानामा पुर्याउन खटेका कृषक यतिबेला काँटछाँटमा व्यस्त छन् । चिया टिपाइ सकिनासाथ काँटछाँटको काम शुरु हुन्छ ।
चियालाई विभिन्न चरणमा काँटछाँट गरिन्छ । कृषक यतिबेला कटिङको काममा व्यस्त छन् । चिया टिपाइ सकिएपछि हल्का ढंगले हरेक वर्ष काँटछाँट गर्ने गरिएको छ । यतिबेला चिया नकाटिए उत्पादनमा ठूलो असर पुग्ने चिया किसान बताउँछन् ।
हरेक तीन वर्षमा चियालाई डिप कटिङ गर्नुपर्छ । जमिनको सतहदेखि १२ देखि १४ इञ्चसम्म यो कटाइ गर्नुपर्छ । चिया रोपेको १५ वर्षको हाराहारीमा जमिनको सतहबाट छ सेन्टिमिटरमा अर्को कटाइ हुन्छ ।
ठूलो बगान भएका कृषकले ब्लग छुट्याएर यो क्रमलाई निरन्तरता दिने गरेका छन् । कटिङ गर्ने क्रममा अधिकांश कृषक व्यस्त छन् । चियामा काम गर्ने श्रमिकको संख्या घट्दै गएपछी कृषकहरुले अर्मपर्मले काम चलाउने गरेका छन्।