किसानको हातमा पुग्‍नुपर्ने मल व्यापारीको हातमा पुग्यो

अनलाइन दर्पण 2020-06-15
img

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद प्रभु साहले किसानलाई दिनुपर्ने मल आर्थिक चलखेल गरेर व्यापारीलाई दिइएको आरोप लगाएका छन् ।

नेकपा प्रदेश २ का अध्यक्षसमेत रहेका सांसद साहले आइतबार बसेको प्रतिनिधिसभाको बैठकको विशेष समयमा बजारमा अभाव भएको बेला सहुलियत अनुदानमा किसानलाई सरकारले दिनुपर्ने मल व्यापारिक पसलमा पठाइएको बताए । पहुँच, लेनदेन र कमिसनको बलमा बिचौलियाले जिम्मेवार निकाय कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङबाट मल लिएको भन्दै रुलिङ गर्न सभामुखलाई आग्रह गरे ।

“अहिले धान रोपाइँको मौसममा किसानहरूले मल पाइरहेको छैन । मल खाद्यको पूरै अभाव छ, ७ सय रुपैयाँमा प्रतिबोरा पाइने युरिया मल हजार रुपैयाँमा समेत मुस्किलले पाइराखेको छ, २१ सयमा पाइने डीएपी मल अहिले प्रतिबोरा ३ हजारमा मुस्किलले पाइराखेको छ । सहकारी डिपोमा पाउने भनिएको मल पसल पसलमा छ,” उनले भने, “हामी जान्‍न चाहन्छौं, सरकारी संयन्त्रमार्फत हुने यो बिक्री-वितरणको कार्य कसरी पसलमा पुग्यो ?”

मन्त्रीको ध्यानाकर्षण गराउदै उनले थपे, “कृषि सामाग्री कम्पनी र सालट ट्रेडिङ जो नेपाल सरकारको स्वामित्वमा छ, उसले जिम्मा लिएको यो कार्यमा पूरै अनियमितता र कालोबजारी देखिन्छ । कृषियोग्य जग्गाको क्षेत्रफलको आधारमा प्रदेशहरु र स्थानीय तहहरूलाई बाड्नुपर्ने मल सेटिङ, भनसुन र कमिसनको आधारमा सहकारी र किसानको हातमा जानुको सट्टा व्यापारीको हातमा पुगेको छ ।’’ सरकारको अर्बौं लगानी भएको अनुदान रकमको दुरुपयोग भएको भन्दै उनले सभामुखलाई रुलिङ गर्न आग्रह गरे ।

बैठकमा सांसद साहले स्थानीय तहमा अनावश्यक सरुवा गरेर संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृ‍दयेश त्रिपाठीले अस्थिरता मच्चाउन खोजेको भन्दै सरकारको ध्यानाकर्षणसमेत गराए ।

सम्बन्धित समाचार

Advertisement