यस्ताेछ राेनाल्डाेले रियललार्इ दिलायकाे उपाधी र नयाँ इतिहास

अनलाइन दर्पण 2017-06-03
img

कार्डिफ, जेठ २१ । रियल म्याड्रिड र च्याम्पियन्स लिग अब एक अर्काको पर्याय बनेको छ ।

सबैभन्दा धेरै पटक प्रतियोगिता जितेको रियलले शनिबार राती कार्डिफमा भएको फाइनलमा युभेन्टसलाई ४–१ गोल अन्तरले हराउँदै प्रतियोगिताको दुई दशक बढीको इतिहासमा लगातार दुईपटक उपाधि जित्ने पहिलो टोलीसमेत बनेको छ । योसँगै रियलले फुटबल इतिहासमा नयाँ अध्याय रचेको छ ।

रियल डिफेन्डिङ च्याम्पियन भएपनि शनिबारको खेलअघि धेरै फुटबल पण्डितहरुले युभेन्टसले प्रतियोगिता जित्ने अनुमान गरेका थिए ।

नकआउट चरणमा बार्सिलोनासमेत हराएको युभेन्टसले यो सिजन च्याम्पियन्स लिगमा सबैभन्दा कम गोल खाएको थियो । यो सिजन फाइनलसम्म आइपुग्दा ८ खेलमा युभेन्टसले गोल नै खाएको थिएन र एक्लो अपराजित टोली पनि थियो ।

तर, रियलसँग बार्सिलोनासँग पनि नभएको एक खेलाडी थियो जो जहिले ठूला खेलमा आफूलाई स्थापित गराउन जान्दथ्यो, क्रिस्टियानो रोनाल्डो ।

प्रतियोगिताको इतिहासमा सर्वाधिक गोलकर्ता रहेका रोनाल्डोकै दुई गोलको मद्दतले रियलले अन्ततः उपाधिमाथि किर्तिमानी १२ औँ पटक कब्जा जमायो ।

खेलमा युभेन्टसले शुरुवात भने राम्रो गरेको थियो । शुरुदेखि रियलमाथि दबाब राख्दै रियलको पोष्टमा आक्रमण गरेको थियो । तर, युभेन्टसको दुईवटा प्रहारलाई गोलकिपर केलर नाभासले उत्कृष्ट बचाउ गरे ।

त्यसपछि आफ्नो पहिलो आक्रमणमा नै ड्यानी कार्भाहालको पासमा रोनाल्डोले खेलको २० औँ मिनेटमा रियललाई अग्रता दिलाए ।

यो गोलसँगै उनी प्रतियोगिताको तीनवटा फाइनलमा गोल गर्ने पहिलो खेलाडी पनि बने । उनको गोल रियलको प्रतियोगितामा ५ सयौँ गोल पनि थियो । प्रतियोगितामा ५ सय गोल गर्ने रियल पहिलो टोली पनि बनेको छ ।

तर, रियलको अग्रता लामो समय टिक्न भने सकेन । ७ मिनेट पछि मारियो मान्डुज्किचले उत्कृष्ट गोल गर्दै खेल बराबरीमा ल्याए ।

त्यसपछि पहिलो हाफमा कुनै गोल हुन सकेन । खेलको दोस्रो हाफमा भने रियलले सुधारिएको खेल प्रदर्शन गर्दै खेलमा नियन्त्रण बनायो ।त्यसपछि तीन मिनेटको अन्तरालमा दुई गोल गर्दै रियलले युभेन्टसलाई स्तब्ध बनायो ।

खेलको ६१ औँ र ६४ औँ मिनेटमा कासिमेरो र रोनाल्डोले गोल गर्दै रियललाई ३–१ को अग्रता दिलाए ।गोलसँगै रोनाल्डोले यो सिजन प्रतियोगितामा व्यक्तिगत गोलसंख्या १२ पुर्याउँदै सार्वधिक गोलकर्ता पनि बनेका छन् ।

हुवान क्वाडराडोले दुईवटा पहेँलो कार्ड खाँदै बाहिरिएपछि खेलको अन्तिम ६ मिनेटमा युभेन्टस १० खेलाडीमा सिमित बन्यो । जसको फाइदा उठाउँदै मार्को एसेन्सियोले रियलका लागि चौँथो गोल गर्दै ला लिगा च्याम्पियनका लागि उपाधि सुनिश्चित गरे ।

सन् १९९६ मा प्रतियोगिता जितेपछि इटालियन च्याम्पियनले ५ वटा फाइनल हार्दै फेरि अभागी ठहरिएको छ ।

सन् १९९८ मा अहिलेका रियलका प्रशिक्षक जिनेदिन जिदान युभेन्टसमा रहँदा रियलसँगै पराजित भएको थियो भने दुई वर्षअघि बार्सिलोनासँग हार्दै उपाधिबाट टोली बञ्चित बनेको थियो । अहिले जिदान लगातार दुई पटक च्याम्पियन्स लिगको उपाधि जित्ने पहिलो प्रशिक्षक बनेका छन् ।

सन् १९९२–९३ सिजनमा प्रतियोगिता ‘च्याम्पियन्स लिग’ बन्न अघि बने सन् १९९० मा एरिगो साचीले एसी मिलानसँग युरोपियन कप प्रतियोगिता लगातार दुईपटक उपाधि जितेका थिए ।

उता, युभेन्टसका कप्तान जियानलुइजी बुफोनको यो उपाधि जित्ने सपना फेरि पनि अधुरै बनेको छ । विश्वकपदेखि लिग उपाधि सबै जितेका बुफोनले यो उपाधि मात्र जित्न सकेका छैनन् । राताे पाटि बाट ।

सम्बन्धित समाचार

Advertisement