कविता: नजन्मेकी बहिनी

अनलाइन दर्पण 2018-04-23
img

  लोकनाथ अधिकारी

हामी फरक बाटो हिँड्यौँ होला

तर हाम्रो नाता रेल र लिकजस्तै

सुमधुर छ

रहनेछ बहिनी ।

समाजले नै मारेका मेरा धेरै बहिनीहरू

जो गर्भमै संसार छाड्छन्

समाजसेवीहरूले नै विनाश गरेका धेरै दिदीहरू

र तिनका सपनाहरू माथि छौ तिमी

मैले तिमीलाई नपाएर पनि हुनसक्छ

तर तिम्रो क्रय र बिक्रय कसरी सहूँ बहिनी ?

तिमी साधन होईन साध्य हौ

यो तिमीले पनि बुझ

अज्ञानी मात्रै होईन अर्जुनहरू पनि छन् यहीँ ।

नजन्मिएको हाम्रो घरको भोली भएर

मेरो सानो भाईको सट्टा

तिमी मेरो घरमा जन्मेको भए

म पनि हरेक तिहार र तीजमा रूनु पर्दैनथ्यो होला

म लाहुर हिडेँ पछि गाउँमा

मेरो अभावको मजेरीमा

बा र आमाको घर

तिमी माईति सम्झेर पनि त जान्थ्यौ

र यो परदेशीको फोटोमा

तिहारको माला लाँउथ्यौ होला सायद !

यी पराईका गाँउका मेरा चेलीहरूको

कुहिएको बर्तमान देखेर के सोच्छौ बहिनी ?

तिमी कोमोडिटि होईनौ

तर यहाँ तिनीहरू त साधन भएका छन् नि ?

म यो नपुंसक बर्तमानमा

तिमीलाई वस्तु बन्न दिन्नँ थे सायद

र नजन्मेकी तिमीलाई

तशलिमा देखिरहेको छु अझै ।

हो म तिमीलाई नशरिन बनाउन चाँहन्थेँ

तर तिमी कहिल्यै मेरो घरमा आईनौ ।

मेरो सानो भाईको सट्टा

तिमी मेरो घरमा जन्मेको भए

के बिग्रन्थ्यो र बहिनी ?

– लोकनाथ अधिकारी

सम्बन्धित समाचार

Advertisement