महानायक राजेश हमाल बच्चाको बाबु बनेका छन् । उनी आफ्नै सन्तानको बाबु नभएर बुद्धभूमी नगरपालिका २ गोरुसिंगे कपिलवस्तुका एक बालककलाइ विद्यालय भर्ना गराएर अभिभाकत्व लिएका हुन् ।
शुक्रबार नायक हमालले बुद्धभुमी नगरपालिका २ गोरुसिंगे स्थित गौतम बुद्ध उच्च मा.वि.मा ५ बर्षिय राज थारुलाई कक्षा १ मा भर्ना गरेका हुन् । हमालले बुद्धभूमी नगरपालिका तथा जिल्ला प्रशासन कार्यालय शिक्षा विकास तथा सम्मन्वय ईकाई कपिलवस्तुको समन्वयमा अभिभावक बनी भर्ना गरेका हुन ।
नायक हमालले यो आफ्नो जीवनको पहिलो अनुभव भएको बताए । मेरो पहिल्यै देखि चाहना पनि थियो । यसपटक नेपाल सरकारको नीतिले आफूलाई ठुलो अवसर जुटायो हमालले भने । राजप्रति मेरो धेरै चासो हुनेछ , म उसलाई पटक पटक विशेष महत्वका साथ हेर विचार गर्नेछु हमालले भने, उसले पिता गुमाएको रहेछ, गरिब परिवारमा जन्मिएको छ, म उसलाई असल अभिभावकत्व प्रदान गर्नेछु ।’
विद्यालयको भर्ना रजिस्टरमा अभिभावकको रुपमा हस्ताक्षर गर्दै उनले बालक राजलाई झोला, पाठयपुस्तक र स्टेसनरी सामाग्री वितरण गरेका थिए । बालकको लालन पोषणको लागि केही रकम समेत प्रदान गरेका थिए ।
राज थारु बुद्धभूमी २ पुरेनाको सामान्य परिवारमा जन्मिएका बालक हुन । बुवा काशिराम थारु र आमा लक्ष्मी थारुको उनी कान्छो सन्तान हुन । उनको बुवाको गत वर्ष कार्तिक १९ गते करेन्ट लागेर मृत्यु भएको थियो ।
भारतको गुजरात शहरको एक धागो कारखानामा काम गर्ने काशिराम सहित ३ जनालाई करेन्ट लागेको थियो । तीमध्ये काशिरामको मृत्यु भएको हो । मृत्यु भएको १ वर्ष पुगे पनि राजको परिवारले हाल सम्म राहत रकम पाएका छैनन । काज किरियाको लागि ५० हजार कम्पनीले दिएको छ । क्षतीपुर्तिको लागि पहल गर्ने कोही पनि नभएको हुँदा आफूले न्याय नपाएको लक्ष्मी थारुले बताइन ।
पतिको मृत्युपछि उनले ज्यामी काम गरेर जीविकोपार्जन गर्दै आइरहेकी छन । महानायक हमालले अभिभावकत्व ग्रहण गरेपछि उनी आफ्नो बालकको भविश्य उज्वल हुनेमा आशावादी छन् ।